‘झापामा बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा “झापामा बालेन साह माथि गोली प्रहार” भनी भ्रामक तथा आधारहीन सूचना पोस्ट गरी सार्वजनिक शान्ति खलबल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई आइतबार अपराह्न करिब २ः३० बजे काठमाडौं–५ डबली चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत अपुष्ट तथा गलत सूचना प्रवाह हुँदा सर्वसाधारणमा अन्योल, त्रास र नकारात्मक प्रभाव पर्ने भएकाले सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत उनलाई पक्राउ गरिएको हो । उक्त पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको छ । हाल उनीमाथि विद्युतीय माध्यमबाट भ्रामक सूचना प्रसारणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा सत्य–तथ्य पुष्टि नगरी भ्रामक सामग्री प्रकाशन नगर्न तथा जिम्मेवार ढंगले अभिव्यक्ति दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

Exit mobile version