पोखरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा भोली १५ गते शुक्रवार विशाल चुनावी आमसभा आयोजना गर्ने तयारी पूरा गरेको छ । पार्टीले यसलाई गण्डकी प्रदेशस्तरको शक्ति प्रदर्शन र नीति–कार्यक्रम सार्वजनिक गर्ने प्रत्रकार संम्लेलनमा जानकारी दिएको हो ।
आमसभामा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनीहरूले वर्तमान राजनीतिक परिस्थिति, लोकतान्त्रिक मूल्यको सुदृढीकरण, सुशासन र रोजगारीमुखी आर्थिक रूपान्तरणका विषयमा पार्टीको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
कास्की जिल्ला कार्यसमितिका महासमिति सदस्य दीपक गुरुङका अनुसार आमसभामा करिब २० हजार सहभागी जुट्ने अनुमान गरिएको छ । उनका अनुसार गाउँ–गाउँबाट करिब १०० सवारीमार्फत जनप्रतिनिधि, कार्यकर्ता र समर्थकहरू पोखरा आइपुग्ने व्यवस्था मिलाइएको छ। “सभालाई व्यवस्थित र प्रभावकारी बनाउन स्वयंसेवक परिचालन, पार्किङ व्यवस्थापन र सुरक्षा समन्वयमा विशेष ध्यान दिइएको छ,” उनको भनाइ रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका नेपाली कांग्रेसका १८ प्रत्यक्षतर्फका उम्मेदवारको छोटो संक्षिप्त बायो तथा प्राथमिकता सार्वजनिक गरिनेछ । पार्टीका अनुसार यसले मतदातालाई उम्मेदवारको योग्यता, योजना र प्रतिबद्धता बुझ्न सहज बनाउनेछ । साथै, युवाशक्ति, उद्यमशीलता प्रवद्र्धन, सीप विकास र स्थानीयस्तरमै रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै संस्कार संस्कृति, ग्रामिण कृषि र आधिुनिकिकरण ठोस कार्ययोजना प्रस्तुत गरिने तयारी छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले ‘बदल्यों कांग्रेस, बदल्छौं देश’ मूल नारामार्फत संगठनात्मक रूपान्तरण, विधि–सम्मत र संस्थागत कार्यशैली, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा उतार्ने प्रतिवद्धता दोहोर्याउदै । “यो आमसभा नारामात्र होइन, परिणाममुखी कार्ययोजना र स्पष्ट रोडम्याप जनतामाझ राख्ने अवसर हो,” उनको भनाइ रहेको थियो ।
आयोजकका अनुसार आमसभालाई शान्तिपूर्ण, व्यवस्थित र समावेशी बनाउन स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ । यातायात, भीड व्यवस्थापन, प्राथमिक उपचार तथा सञ्चार संयन्त्रसमेत तयारी अवस्थामा राखिएको छ । पार्टीले लोकतान्त्रिक मूल्य र विचारको विजयका लागि व्यापक जनसहभागिता सुनिश्चित गर्न सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई उपस्थित हुन आह्वान गरेको छ ।
यस आमसभाले निर्वाचन अभियानको गति तीव्र बनाउँदै प्रदेशभर कांग्रेसको संगठनात्मक सक्रियता र चुनावी एजेन्डालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
