सडेन डेथमा सहारा क्लब विजयी, मनाङ स्तब्ध

पोखरा  । सहारा क्लब पोखराले इतिहास रच्दै २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनल यात्रा तय गरेको छ । 

पोखरा रंगशालामा रोमाञ्चक प्रतिस्पर्धा र अन्तिम क्षणसम्मको तनावबीच सहाराले ए डिभिजनको बलियो टोली मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७–६ ले पराजित गर्‍यो । 

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि निर्णय सडेन डेथबाट गरिएको हो । 

निर्णायक क्षणमा गोलरक्षक टिकेन्द्र थापाले सविन खड्काको प्रहार उत्कृष्ट रूपमा बचाउ गर्दै सहारालाई फाइनलको ढोका खोलिदिए । उनको उत्कृष्ट प्रदर्शनले सहाराको जितको मुख्य आधार बन्यो । खेलमा सहाराका ताये डानियल बादारु ‘उत्कृष्ट खेलाडी’ घोषित भए । 

ऐतिहासिक जितसँगै सहारा क्लब पोखरा उपाधि नजिक पुगेको छ । 

अब भोलि हुने दोस्रो सेमिफाइनलमा जावलाखेल युवा क्लब र आभा एफसी बीच दिनको ३ बजे खेल हुने तालिका रहेको छ । 

Exit mobile version