“सुखी प्रदेशबासी बनाउन आत्मनिर्भर प्रदेश आवश्यक”: प्रदेश प्रमुख

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेको बताए ।

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्न जरुरी रहेको उल्लेख गरे ।  

‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र अधिकार तोकेको छ ।’ उनले भने– ‘जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरुको जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी हो । प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको छ ।’

नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, संघीयताको मर्म  बमोजिम नागरिकसामू जिम्मेवार भई नागरिकका अपेक्षा चाहनालाई गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रप्रति पूर्ण प्रतिबद्ध रही पूरा गर्न सकोस् भन्ने शुभकामना पनि उनले  व्यक्त गरे ।

‘आगामी दिनमा पनि गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच  सामाजिक,  सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयन विषयमा  सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुनेमा विश्वस्त छु ।’ प्रदेश प्रमुख भट्टले भने ।

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।

यस्तै, उनले प्रदेश सभा र प्रदेश सरकार आ–आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरु मध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको पनि सुनाए । 

Exit mobile version