लुटिएको प्रहरी राइफलसहित पोखराबाट दुई युवक पक्राउ

पोखरा । प्रहरी कार्यालयबाट लुटिएको इन्सास राइफल लुकाएर राखेको आरोपमा कास्की प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले पोखरा–२ भीमसेनटोलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा महोत्तरी घर भई हाल पोखरा–९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा–२ अर्चलवोट बस्ने १८ वर्षीय राज कुमार रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी लुटिएको हतियार समेत बरामद गरेको जनाएको छ । 

अनुसन्धानबाट उनीहरूले गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट इन्सास राइफल लुटेर लगेका थिए । 

प्रारम्भिक सोधपुछमा उनीहरूले उक्त हतियार पोखरा–२ भीमसेनटोलस्थित इन्द्रबहादुर भारीको टहरामा रहेको दाउराको खलियामा लुकाएको स्वीकार गरेका थिए । 

सोही आधारमा गरिएको खानतलासीमा दाउराको बीचबाट ५.५६ एमएम एम३२२६ लेखिएको इन्सास राइफल बरामद भएको हो । 

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले आन्दोलनको मौका छोपेर हतियार लुट्ने र लुकाउने कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जनाएको छ । 

Exit mobile version