पोखरा । आर्सनलले लिगकप फाइनलको यात्रातय गरेको छ । मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै आर्सनलले फाइनलको यात्रातय गरेको हो । खेलमा आर्सनलका लागि काइ हाभर्टेजले गरेको एक मात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।
पहिलो लेगमा ३–२ को अग्रता बनाएको आर्सनलले दोस्रो लेगको नतिजासहित समग्रमा चेल्सीलाई ४–२ ले पराजित गर्यो ।
आर्सनल ६ वर्षपछि पहिलोपटक यो प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। यस सिजन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलका लागि लिगकपको फाइनल यात्राले टोलीको मनोबल थप उच्च बनाएको छ। टोलीले यस वर्ष दोहोरो उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ।
फाइनलमा आर्सनलले म्यानचेस्टर सिटी वा न्युकासल युनाइटेडमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी २–० ले अगाडि रहेकाले फाइनलमा सिटी र आर्सनलबीचको भिडन्त हुने सम्भावना बलियो देखिएको छ ।
