नागरिक सचेत हुनैपर्छ, नभए क्यान्सर नियन्त्रण सम्भव छैन

आज विश्व क्यान्सर दिवस मनाइँदै गर्दा एउटा गम्भीर यथार्थ स्मरण गर्नु जरुरी छ-नागरिक स्वयं सचेत नभएसम्म क्यान्सरजस्तो रोगलाई राज्यले मात्र नियन्त्रण गर्न सक्दैन । नीति, कानुन र अस्पतालको पहुँच विस्तार भए पनि जनस्तरको सचेतना कमजोर रहँदा क्यान्सर चुनौतीकै रूपमा रहिरहन्छ ।

नेपालमा क्यान्सरका बिरामीको संख्या वर्षेनी बढ्दो छ । धूमपान, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ जीवनशैली, अव्यवस्थित खानपान र नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति क्यान्सर बढ्नुका मुख्य कारण हुन्। यस्ता कारणहरू राज्यले मात्र नियन्त्रण गर्न सक्ने विषय होइनन्, नागरिकको व्यवहार परिवर्तन यसमा निर्णायक हुन्छ।

राज्यले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, गैर–सञ्चारी रोग नियन्त्रण नीति, क्यान्सर उपचारमा आर्थिक सहुलियत जस्ता कार्यक्रम ल्याएको छ । तर कानुन बने पनि कार्यान्वयनमा नागरिकको सहयोग नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन। सार्वजनिक स्थानमा धूमपान निषेध भए पनि उल्लङ्घन भइरहेकै छ, स्वास्थ्य परीक्षणलाई अझै पनि धेरैले गम्भीर रूपमा लिएका छैनन्।

क्यान्सर समयमै पहिचान भए उपचार सम्भव हुने रोग हो। तर लक्षण लुकाउने, घरेलु उपचारमै भर पर्ने र ढिलो अस्पताल पुग्ने प्रवृत्तिले धेरैको ज्यान जोखिममा पर्ने गरेको छ। महिलामा पाठेघरको मुख र स्तन क्यान्सरको नियमित स्क्रिनिङ नगर्ने समस्या अझै चुनौतीकै रूपमा रहेको छ ।

स्वस्थ जीवनशैली अपनाउने, धूमपान र मदिरा त्याग्ने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने र समय–समयमा स्वास्थ्य जाँच गराउने जिम्मेवारी नागरिक स्वयंको हो । राज्यले वातावरण तयार गरिदिन सक्छ, उपचारको ढोका खोलिदिन सक्छ, तर क्यान्सरबाट बच्ने पहिलो कदम नागरिककै हातमा हुन्छ ।

त्यसैले, विश्व क्यान्सर दिवसले स्मरण गराउँछ—क्यान्सरविरुद्धको लडाइँ अस्पताल वा सरकारबाट मात्र जितिँदैन। सचेत नागरिक, जिम्मेवार समाज र प्रभावकारी राज्यको संयुक्त प्रयास बिना क्यान्सर नियन्त्रण असम्भव छ ।

Exit mobile version