निपा भाइरस के हो ? कसरी बच्न सकिन्छ ?

नयाँलिपि । छिमेकी मुलुक भारतका केही राज्यमा निपा भाइरसको संक्रमण देखिएसँगै नेपालमा पनि स्वास्थ्य सतर्कता बढाइएको छ ।

यस्तो अवस्थामा निपा भाइरस के हो, कति खतरनाक छ र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा सर्वसाधारणले जान्नु अत्यन्त जरुरी छ ।

आउनुुस यो भाइरस के हो र कसरी बच्न सकिन्छ भन्ने विषयमा चर्चा गरौ !

निपा भाइरस के हो ?

निपा भाइरस एक जुनोटिक भाइरस हो, अर्थात् जनावरबाट मानिसमा सर्ने भाइरस । यो मुख्यतया

चमेरो (फलफूल खाने चमेरा)

सुँगुर
मार्फत मानिसमा सर्छ ।

यो भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा देखिएको थियो । त्यसपछि बंगलादेश र भारतमा समय–समयमा यसको प्रकोप देखिँदै आएको छ । विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई ‘प्राथमिकता पाथोजन’ को सूचीमा राखेको छ, किनकि यसका लागि हालसम्म विशेष औषधि वा खोप उपलब्ध छैन ।

निपा भाइरस कति खतरनाक छ ?

स्वास्थ्य विज्ञहरूका अनुसार निपा भाइरसको मृत्यु दर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ ।
संक्रमण भएमा सुरुमा सामान्य ज्वरो, टाउको दुख्ने, खोकी जस्ता लक्षण देखिन सक्छन् । तर अवस्था बिग्रिँदै जाँदा

श्वासप्रश्वासमा गम्भीर समस्या

मस्तिष्कमा सूजन (इन्सेफेलाइटिस)

अचेत अवस्था वा कोमा
समेत हुन सक्छ ।

निपा भाइरस कसरी सर्छ ?

निपा भाइरस निम्न माध्यमबाट सर्न सक्छः

संक्रमित चमेरोले छोएको फलफूल वा रस सेवन गर्दा

संक्रमित सुँगुरसँग प्रत्यक्ष सम्पर्क हुँदा

संक्रमित व्यक्तिको थुक, सासप्रश्वास, शरीरका तरल पदार्थमार्फत

अस्पतालमा उपचारको क्रममा मानव–मानव सम्पर्कबाट

नेपालमा जोखिम कस्तो छ ?

हालसम्म नेपालमा निपा भाइरसको संक्रमण पुष्टि भएको छैन । तर नेपालमा पनि चमेरा पाइने भएकाले सम्भावित जोखिमलाई बेवास्ता गर्न नहुने स्वास्थ्य विज्ञहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाकाहरू, विमानस्थल तथा स्थलमार्गमा तापक्रम जाँच,स्वास्थ्य घोषणा फाराम,शंकास्पद लक्षण भएका व्यक्तिको परीक्षण जस्ता निगरानी प्रक्रिया कडा बनाएको जनाएको छ ।

निपा भाइरसबाट कसरी जोगिन सकिन्छ ?

स्वास्थ्य विज्ञहरूले अपनाउनुपर्ने सावधानी यस्ता छन् :

चमेरा वा बिरामी जनावरसँग प्रत्यक्ष सम्पर्क नगर्ने

भुइँमा झरेका वा चमेराले टोकेको आशंका भएका फलफूल नखाने

फलफूल र तरकारी राम्ररी धोएर, छिलेर वा पकाएर मात्र खाने

काँचो खजुरको रस सेवन नगर्ने

ज्वरो, खोकी, टाउको दुखाइ, श्वासप्रश्वास समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाने

जोखिमयुक्त क्षेत्रबाट फर्किएका व्यक्तिले केही समय स्वास्थ्य निगरानीमा रहने

स्वास्थ्यकर्मीले संक्रमण नियन्त्रण (IPC) मापदण्ड कडाइका साथ पालना गर्ने

विज्ञको सुझाव

सरुवारोग विशेषज्ञहरूका अनुसार कोभिड–१९ महामारीबाट सिकेका पाठलाई उपयोग गर्दै अग्रिम तयारी, सही सूचना, जनचेतना र स्वास्थ्य प्रणालीको सुदृढीकरण नै निपा भाइरस जस्तो घातक रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।

Exit mobile version