जनज्योति मावि भूपू विद्यार्थीहरूको वृहत् पुनर्मिलनको तयारी अन्तिम चरणमा

पोखरा । पोखरा–२८ कालिकास्थित वि.सं. २०१६ सालमा स्थापना भएको श्री जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको वृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

जनज्योति मावि भूपू विद्यार्थी मञ्च पोखरा–२८, कालिकाको आयोजनामा माघ २४ गते शनिबार पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीले बताए । 

कार्यक्रमलाई सफल बनाउन जनज्योति मावि भूपू विद्यार्थी मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेनाको संयोजकत्वमा राजेन्द्र अधिकारी,वालकृष्ण त्रिपाठी,शुक्रराज अधिकारी,मनोहरि पौडेल,सागर अधिकारी रहेको छ सदस्यीय आर्थिक तथा रजिस्ट्रेसन उप–समिति समेत गठन गरिएको छ ।

मञ्चका सचिव गुरु प्रसाद त्रिपाठीले विद्यालय स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेका विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र परिचय विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै लामो समयपछि एउटै थलोमा भेला भएर पुराना सम्झना ताजा गर्ने, जीवनका अनुभव साटासाट गर्ने र विद्यालयप्रतिको अपनत्व अझ सुदृढ बनाउन कार्यक्रमको मूल अभिप्राय रहेको बताए ।

मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेनाका अनुसार हालसम्म जनज्योतिमा अध्ययन गरेका सबै भूपू विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन पत्राचार तथा सूचना प्रवाह गरिएको तथा सामाजिक सञ्जाल, प्रत्यक्ष सम्पर्क र अन्य माध्यममार्फत सूचना पु¥याउने काम भइरहेको बताउदै कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे छलफल समेत हुने बताए ।

कार्यक्रममार्फत यसअघि जनज्योति माविलाई आफ्नो शैक्षिक थलो बनाएका र हाल देश–विदेशका विभिन्न स्थानमा रहेर अध्ययन, व्यवसाय, सेवा तथा अन्य पेशामा संलग्न भूपू विद्यार्थीहरूको बृहत् सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । 

आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पु¥याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ । 

आयोजकका अनुसार करिब दुई हजार भूपू विद्यार्थी तथा तीन पुस्ताका एक हजारभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी हुने अनुमान छ । 

माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय ग्रामीण परिवेशमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा परिचित छ । दशकौँ लामो शैक्षिक यात्रामा यहाँबाट अध्ययन गरेका विद्यार्थीहरूले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

Exit mobile version