डुम्रे–बेँसीसहर सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनका लागि बन्द गरिएको छ। 

बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि माघ १४ गते बेलुका ६ बजेसम्म यातायात अवरुद्ध रहने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।

कालोपत्रे कार्य सहज बनाउन सडक बन्द गरिएको हो। सवारी आवागमनलाई नेपाली सेनाको उदीपुर ब्यारेक क्षेत्र हुँदै वैकल्पिक मार्गबाट ‘डाइभर्ट’ गरिएको छ। उक्त सडक हुँदै लमजुङ र मनाङका स्थानीयसहित काठमाडौं, पोखरा र चितवनतर्फ जाने सवारी साधन चल्ने गर्छन्।

विसं २०७८ असार १ र साउन ११ गते गएको पहिरोले यस क्षेत्रको सडक बगाएको थियो। सङ्घीय सरकारको रु. ११ करोड १९ लाख बजेटमा सडक रोकथाम तथा मर्मत कार्य भइरहेको छ। हाल सो स्थानमा करिब ४०० मिटर सडक कालोपत्रे गरिँदै छ।

Exit mobile version