काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् ।
कप्तान इन्दु बर्माले २२ रन बनाइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए । नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्नैपर्ने दबाब रहनेछ ।
