पोखरा महानगरपालिकाले शनिबार सँझ एक विज्ञप्तीमार्फत पोखरेलीलाई आफ्नो घर, व्यवसायबाट उत्पन्न फोहोर हाललाई आफै व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
निर्वाचनताका पोखरेलीले ‘पैसा तिरेर फोहोर प्रशोधन केन्द्र हेर्नुपर्ने’ प्रचार गरेका मेयर धनराज आचार्यले हाल नगरवासीले शूल्क तिरेर पनि फोहोर आफै तह लगाउनुपर्ने बाध्यकारी अवस्था सृजना गरेका छन् ।
अहिले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्या समाधानका लागि महानगरपालिकाले प्रयत्न गरिरहेको जनाउँदै नगरबासीहरूलाई जथाभावी फोहोर नफाल्न विशेष आग्रह गरेको छ ।
महानगरपालिकाको शहरी विकास, पर्यटन तथा वातावरण महाशाखाले सोमबार एक सूचना जारी गर्दै समस्याको पूर्ण समाधान नभएसम्म आफ्नो घर, व्यावसायिक स्थल तथा अन्य क्षेत्रबाट निस्कने फोहोरलाई सार्वजनिक स्थलमा नफाल्न भनेको हो ।
महानगरले सडक, चोक, बसपार्क, ताल(पोखरी तथा नदी किनारमा जथाभावी फोहोर फाल्दा सहरको सुन्दरता र वातावरणमा प्रतिकूल असर पर्ने भन्दै यस्तो कार्य नगर्न नगरबासीहरूमा हार्दिक अनुरोध गरेको छ ।
त्यसैगरी, महानगरले फोहोरको प्रभावकारी व्यवस्थापनका लागि नागरिकहरूलाई घरमै फोहोर वर्गीकरण गर्न आह्वान गरेको छ ।
सूचनामा सम्भव भएसम्म कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाउन, नकुहिने फोहोरलाई घरमै सुरक्षित रूपमा जम्मा गरेर राख्न र कुहिने फोहोरको हकमा अन्य वैकल्पिक उपायहरू अवलम्बन गरी व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा देखिएको पछिल्लो अवरोध हटाउन र यसको स्थायी समाधानका लागि आफूहरू अनवरत रूपमा प्रयत्नशील रहेको समेत स्पष्ट पारेको छ ।
पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी पोखरा–३३ को झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीयवासी पुस २५ गतेदेखि विरोधमा उत्रिएका छन् ।
वडा ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि वडाध्यक्ष स्वयंले खुकरी नचाउँदै प्रतिवादमा उत्रिएका थिए ।
