प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा सञ्चालित १० दिने मनोसामाजिक परामर्श सम्बन्धी तालिम (मोड्युल १) सोमबार पोखरामा सम्पन्न भएको छ । ६ महिने विशेष तालिम अन्तर्गतको यो दोस्रो समूहको कार्यक्रम हो ।
तालिम केन्द्रको सभाहलमा आयोजित समापन समारोह केन्द्रका निमित्त निर्देशक रमेशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१० दिनसम्म चलेको उक्त तालिममा गण्डकी प्रदेशका विभिन्न पालिकाहरू र प्रादेशिक अस्पताल अन्तर्गतका एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मा कार्यरत १८ जना मनोसामाजिक परामर्शकर्ता तथा नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा तालिमको महत्त्वबारे चर्चा गर्दै मुख्य प्रशिक्षकहरू जगन्नाथ पौडेल र लक्ष्मी तामाङले सहभागीहरूलाई कार्यक्षेत्रमा मनोसामाजिक परामर्श सेवालाई थप प्रभावकारी बनाउन प्रेरित गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माले गर्नुभएको थियो ।
समापन समारोहमा तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत विद्या भण्डारी, रवीन्द्र लामिछाने लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
