नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रमा कार्यरत तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
वितरण केन्द्रको स्टोरबाट ९२० मिटर तामाको तार हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारले प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले र कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमाललाई प्रतिवादी बनाएको छ ।
के हो घटना ?
अनुसन्धानका अनुसार पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट ७० एमएम स्क्वायरको १७४ मिटर र १२० एमएम स्क्वायरको ७४६ मिटर पीभीसी तार हराएको थियो । उक्त तार स्टोर प्रमुख लोक प्रसाद काफ्लेले २०८० वैशाख ५ गते कार्यालय प्रमुखलाई जानकारी गराएका थिए । तर, अनुसन्धानका क्रममा स्टोरको रेकर्डमा रहेको ठुलो परिमाणको तार योजनाबद्ध रूपमा मिलेमतोमा गायब पारिएको भेटिएको छ ।
प्राधिकरणले गठन गरेको छानबिन कमिटीको प्रतिवेदन अनुसार, उक्त तार कम्पाउण्ड बाहिर लैजान मेसिन र उपकरणको प्रयोग गरिएको थियो । स्टोरमा मौज्दात रहेको १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको तार बदनियतपूर्ण ढंगले हिनामिना गरिएको अख्तियारको ठहर छ ।
कसलाई के आरोप ?
- राजीव कुमार सिंह (तत्कालीन केन्द्र प्रमुख): सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी भए पनि पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिन र संस्थालाई हानि पुर्याउन मिलेमतो गरेको ।
- लोक प्रसाद काफ्ले (स्टोर प्रमुख): स्टोरको जिम्मा र संरक्षण गर्नुपर्नेमा बदनियत राखी सार्वजनिक सम्पत्तिको नासेमासे र हिनामिना गरेको ।
- राम कुमार पुर्जा र हेम शर्मा रिमाल (सुरक्षा गार्ड): डिउटीमा खटिएको समयमा योजनाबद्ध रूपमा मेसिन प्रयोग गरी तार बाहिर लैजान सहयोग पुर्याएको र मतियार बनेको ।
मागदाबी
अख्तियारले सबै प्रतिवादीहरूबाट जनही १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसा बिगो असुल उपर गर्न माग गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । सुरक्षा गार्डहरूको हकमा भने मुख्य कसुरदार सरह नै सजाय हुनुपर्ने मागदाबी लिइएको छ ।
प्रतिवादी र बिगोको विवरण:
१. राजीव कुमार सिंह (तत्कालीन केन्द्र प्रमुख): १३,९३,६०३.०३ रुपैयाँ
२. लोक प्रसाद काफ्ले (स्टोर प्रमुख): १३,९३,६०३.०३ रुपैयाँ
३. राम कुमार पुर्जा (सुरक्षा गार्ड): १३,९३,६०३.०३ रुपैयाँ
४. हेम शर्मा रिमाल (सुरक्षा गार्ड): १३,९३,६०३.०३ रुपैयाँ
