जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको व्यवस्थापनमा लाहाचोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा आयोजित उक्त कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको थियो।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन हादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था बमोजिम नागरिकका गुनासो सुन्न र सेवालाई पारदर्शी बनाउन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग रोकथाम, र विपद् व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। साथै, जिल्लामा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा देखिएका बाधा हटाउन सहजीकरण गर्ने र सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरियो।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरूले सडक, खानेपानी, विद्युत, मालपोत तथा नापी सम्बन्धी आफ्ना समस्या र गुनासोहरू राखेका थिए। सहभागीहरूले उठाएका जिज्ञासा र सुझावहरूको सम्बन्धित विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले जवाफ दिएका थिए।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान), जिल्ला समन्वय समितिको कार्यालय, मालपोत, नापी, आन्तरिक राजश्व, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण र नेपाल खानेपानी संस्थानका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
