कास्की प्रशासनको निर्णयः मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुसमाथि रोक

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउन कास्की प्रशासनले पोखराका मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बसेको राजनीतिक दलहरूको समन्वय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पोखराका व्यस्त व्यापारिक केन्द्रहरू चिप्लेढुङ्गा र महेन्द्रपुल लगायतका चोक तथा सडक अवरुद्ध हुने गरी कुनै पनि राजनीतिक कार्यक्रम नगर्ने सहमति जुटाएको छ। व्यापार, व्यवसाय र यातायात व्यवस्थापनमा असर नपर्ने गरी तोकिएका उपयुक्त स्थानमा मात्र चुनावी कार्यक्रम गर्न पाइनेछ।

नयाँ व्यवस्था अनुसार, राजनीतिक दलहरूले कुनै पनि प्रदर्शन वा आमसभा गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ र गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा अग्रिम लिखित जानकारी गराउनुपर्नेछ। यस्तै, कार्यक्रम गर्दा दलहरूबीच समय र स्थान नजुध्ने गरी समन्वय गर्नुपर्ने नियम बनाइएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन ‘एकीकृत प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजना २०८२’ कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी उक्त बैठकमा निर्वाचनलाई अनुशासित बनाउन सबैले प्रतिबद्धता जनाएका छन्।

Exit mobile version