२०२५ मा १५ लाख बढी नेपाली विदेशिए, १० लाख पर्यटकले नेपाल घुमे

सन् २०२५ मा १५ लाख २३ हजारभन्दा बढी नेपाली नागरिक विभिन्न प्रयोजनका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार गत एक वर्षको अवधिमा (जनवरी १ देखि डिसेम्बर ३१ सम्म) सो सङ्ख्यामा नेपालीहरू बाहिरिएका हुन्।

विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली नागरिक विभिन्न देशबाट स्वदेश फर्किएका छन्। नेपालीहरू मुख्यतया वैदेशिक रोजगारी, उच्च शिक्षा, पर्यटन तथा व्यवसायका सिलसिलामा विदेश जाने गरेको विभागको भनाइ छ।

यसैगरी, सन् २०२५ मा १० लाख १५ हजार ३ सय ७८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। विभागको तथ्याङ्कअनुसार सोही अवधिमा ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नागरिक नेपालबाट फर्केका छन्।

नेपाल आउने विदेशीहरूमा अधिकांश घुमघाम एवं पर्यटकीय प्रयोजनका लागि आउने गरेका छन्। हाल नेपालको अध्यागमनले विदेशी नागरिकहरूका लागि पर्यटक भिसा, श्रम भिसा र अध्ययन भिसालगायत विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ।

तथ्याङ्कले नेपालबाट बाहिरिने र भित्रिने नेपाली तथा विदेशीहरूको चाप गत वर्ष उच्च रहेको देखाउँछ।

Exit mobile version