पोखराबाट सञ्चारमन्त्रीले भनेः – अब चुनाव ‘कन्फर्म’ भयो

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समयको घटनाक्रमले अब चुनाव हुने वातावरण सुनिश्चित भएको दाबी गरेका छन् ।

नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयको स्वागत ग्रहणपश्चात् मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए ।

‘यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो’, उनले भने । उनले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।

‘नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ’, उनले भने ।

त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।

Exit mobile version