पोखराको लेकसाइडमा आजदेखि सुरु भएको २७ औं सडक महोत्सवको उद्घाटनमा जन्मदै थला परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र अतिक्रमित फेवातालकै चर्चा भएको छ ।
महोत्सवको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टीभिटी सहज बनाउन आवश्यक रहेको धारणा राखे ।
त्यस्तै, उनले पोखराको शान फेवाताल भएको भन्दै यसको संरक्षणमा आवश्यक पहल हुन नसकेको प्रतिक्रिया दिए । स्थानीय र प्रदेश सरकारले फेवातालको संरक्षणको प्रयास गरिरहेको थाहा पाएँ,उनले भने,‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, यसका लागि म प्रयास गर्छु ।’
फरक प्रसङ्गमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए । चुनावले देशलाई स्थायीत्वतर्फ लैजाने भन्दै उनले भने,‘फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ ।’
उनले चुनाव नभए देश अस्थिरतामा जानेछ चेतावनी दिए । उनले चुनाव हुँदैमा समस्या समाधान नहुने बरु चुनावपछिको सरकार कसको हो भन्नेले महत्वपूर्ण अर्थ राख्ने उनको भनाई छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमति बनाउनका लागि पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे ।
उनले भने, ‘जियो पोलिटिक्सको कुरा के हो हामीलाई थाहा भएन र मतलब पनि भएन, तर पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण मिलाउन म आग्रह गर्छु ।’
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ शुरु भको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अवसरमा लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु व्यवसायीहरुले पस्किनेछन् ।
महोत्सव स्थल लेकसाईडलाई अहिले दुलहीझैं सिंगारिएको छ । जहाँ सडक क्षेत्रको आकासमा ध्वजापताका लगाइएको छ भने बिजुली वत्तीले धपक्कै बालिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सवको उद्घाटनअघि पोखरा हल्लनचोकदेखि झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका जातजाति आ–आफ्नो सांस्कृतिक झाँकीसहित सहभागी भएका थिए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।
त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने उनले बताए ।
