मंसिरमा घरजग्गा कारोबारमा उछाल, ८२ प्रतिशतले बढ्यो किनबेच

चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो महिना कात्तिकको तुलनामा मंसिरमा कारोबार संख्या ८२ प्रतिशतले बढेको हो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिरमा देशभर ५१ हजार ६ सय घरजग्गा किनबेच भएका छन्। कात्तिकमा यो संख्या २८ हजार ३ सय मात्र थियो। यो कारोबार चालु आर्थिक वर्षकै उच्च हो।

कारोबारसँगै सरकारी राजस्वमा पनि वृद्धि भएको छ। मंसिरमा मात्रै सरकारले घरजग्गाबाट ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कात्तिकको (२ अर्ब ७४ करोड) तुलनामा निकै बढी हो।

गत वर्षको मंसिरको तुलनामा पनि यस वर्ष कारोबार १९ प्रतिशतले वृद्धि भएको देखिन्छ। गत वर्ष मंसिरमा ४३ हजार ३ सय कारोबारबाट ३ अर्ब ८७ करोड राजस्व उठेको थियो।

सरकारले भू-उपयोग नियमावली २०७९ मा तेस्रो संशोधन गर्दै २०८२ असारसम्मका लागि कित्ताकाट खुल्ला गरेपछि कारोबारमा यो तेजी आएको हो।

जग्गा वर्गीकरण गर्न बाँकी रहेका स्थानीय तहमा पनि कित्ताकाट गर्न दिने निर्णयले बजार चलायमान बनाएको विज्ञहरूको विश्लेषण छ।

यद्यपि, असारपछि भने वर्गीकरण नभएका क्षेत्रमा कित्ताकाट पुनः रोकिने मन्त्रालयले जनाएको छ।

Exit mobile version