पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाल पोखरामा ३३ अर्ब रुपैयाँको विभिन्न परियोजना चलिरहेको बताएका छन् ।
अघिल्लो मेयरको पालामा दातृ निकायसँग करिब डेढ वर्ष सम्बन्ध टुटेकोबेला आफु प्रमुख भएर आएपछि सम्बन्ध सुधारेको दाबी गर्दै प्रमुख आचार्यले विविध योजनाबाट सहयोग भित्र्याएको बताए ।
यसबीच, विकासका साझेदार संस्थासँग महानगरले चालु गरेको परियोजनाका नतीजा देखिन दिन आउन थालेको दाबी गरे ।
महानगरपालिकाको ६७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले सरकारी गजेटमार्फत मिति खुलेपछि पुस २ गते महानगरको स्थापना दिवस राखिएको जनाए ।
सानो भूगोलमा स्थापना भएको नगर आज महानगर भएको उनको भनाई छ ।
प्रत्येक ५ वर्षमा पोखराका नौ जनालाई नवरत्न पुरस्कारबाट सम्मान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै नगरका सबैभन्दा वृद्ध, वृद्धालाई नगर मातापितासमेत घोषणा गर्ने आचार्यले बताएका छन् ।
सम्मान कार्यक्रमलाई नगरको नीति तथा कार्यक्रमबाटै पास गरेर अघि बढाइएको उनले उल्लेख गरे ।
