पोखरा विमानस्थल आयोजना प्रमुख मुनंकर्मीमाथि भ्रष्टाचार मुद्दा, साढे २ करोडको स्रोत नखुलेको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख विनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पदको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

साढे २ करोडको हिसाब मिलेंन
आयोगको अनुसन्धान अनुसार, २०५४ फागुन १ गतेदेखि २०८० मंसिर १४ गतेसम्मको अवधिमा मुनंकर्मीको वैध आय र खर्चबीच ठूलो अन्तर देखिएको छ। यस अवधिमा उनको कुल वैधानिक आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको छ।

तर, सोही अवधिमा उनको जग्गा खरिद, घर निर्माण, शेयर लगानी, र अन्य खर्चहरू जोड्दा कुल व्यय ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ पुगेको छ। यसरी आय र व्ययको विश्लेषण गर्दा २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।

श्रीमतीको नाममा लुकाइयो सम्पत्ति
मुनंकर्मीले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती पूर्ण केशरी गोसाईको नाममा राखेको पाइएको छ। आयोगका अनुसार, अवैध कमाइबाट श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सुनका गरगहना खरिद र विभिन्न कम्पनीमा लगानी गरिएको भेटिएको छ।

आय र व्ययको विवरण
मुनंकर्मीले पारिश्रमिक, जग्गा बिक्री, ऋण, शेयर लाभांश, विदेश भ्रमण भत्ता, र आमाबुवाको सामाजिक सुरक्षा भत्तालगायत शीर्षकबाट ३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको देखाएका छन्। तर, उनले जग्गा तथा घर निर्माण, गाडी र मोटरसाइकल खरिद, शिक्षा, विदेशी मुद्रा सटही र बैंक मौज्दातमा गरेको खर्च ६ करोड २४ लाखभन्दा बढी देखिएपछि उनी अनुसन्धानको घेरामा तानिएका हुन्।

सार्वजनिक पदको दुरुपयोग गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र गैरकानूनी सम्पत्ति थुपारेको पुष्टि भएपछि आयोगले मुनंकर्मी र उनकी श्रीमती गोसाई दुवैलाई प्रतिवादी बनाई हदैसम्मको कारबाहीको मागसहित आरोपपत्र दायर गरेको छ।

Exit mobile version