उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) कास्कीको आयोजनामा १८औँ संस्करणको ‘हिसान स्पोर्ट्स मिट २०८२’ सञ्चालन हुने भएको छ।
हिसान कास्कीले आगामी पुस ४ गतेदेखि ७ गतेसम्म पोखरा रङ्गशाला र पुन समाजमा भव्यरूपमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
प्रतियोगितामा हिसानमा कलेजका कक्षा ११ र १२ का करिब ४ हजार विद्यार्थीहरूले प्रत्यक्षरूपमा खेलमा सहभागिता जनाउने सचिव किरण सापकोटाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, ब्याडमिन्टन (सिंगल/डबल) र टेबल टेनिस (सिंगल/डबल) जस्ता खेलहरू सञ्चालन हुनेछन्।
हिसान कास्कीका अनुसार खेलहरूमा टोलीको उत्साहजनक सहभागिता रहनेछ:
- भलिबल: छात्रतर्फ ३८ टिम र छात्रातर्फ २४ टिम।
- बास्केटबल: छात्रतर्फ ४६ टिम र छात्रातर्फ २० टिम।
- व्यक्तिगत स्पर्धा: टेबल टेनिसमा २५० जना र ब्याडमिन्टनमा २५८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन र भाइचारा विकास गर्ने उद्देश्यले आयोजित यो स्पोर्ट्स मिटमा ४० हजारभन्दा बढी अभिभावक तथा खेलप्रेमी दर्शकले अवलोकन गर्ने अपेक्षा हिसान कास्कीले गरेको छ।
संस्थागत सहकार्यलाई सुदृढ बनाउन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने आयोजकको विश्वास छ।
हिसान कास्कीअन्तर्गत पोखरामा ८० वटा शिक्षालयहरू (माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय) आबद्ध छन्।
जसमा ६८ विद्यालय र १२ कलेज रहेका छन्। यी संस्थाहरूमा ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ५ हजारभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्।
हिसानले नियमित शैक्षिक कामको अलावा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि हरेक वर्ष स्पोर्ट्स मिट आयोजना गर्दै आएको छ। १७औँ संस्करणसम्म आइपुग्दा यसले खेलकुदलाई व्यवस्थित, मर्यादित र विद्यार्थीमैत्री बनाउँदै लगेको उल्लेख छ।
भारोत्तोलन खेलाडी शर्मिला शाह सम्मानित हुने
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
१८औँ संस्करणको अवसरमा भारततोलनतर्फ अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी खेलाडी शर्मिला शाहलाई सम्मान गरिनेछ।
