थाइल्याण्डमा आयोजित ‘फर्काप’ सम्मेलनमा स्वास्थ्य परिषद्को सक्रियता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धान र नैतिकताको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै आफ्नो प्रभावकारी उपस्थिति कायमै राखेको छ।

हालै थाइल्याण्डमा सम्पन्न २५औँ ‘एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका नैतिक समीक्षा समितिहरूको मञ्च’ (फर्काप) अन्तर्राष्ट्रिय सम्मेलनमा परिषद्ले सक्रिय सहभागिता जनाउँदै नैतिक समीक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

थाइल्याण्डमा आयोजित यस सम्मेलनको मुख्य नारा ‘इथिक्स एण्ड क्वालिटी बाइ डिजाइन: च्यालेन्जेस एण्ड अपर्च्युनिटिज इन रिसर्च एण्ड हेल्थ प्राक्टिस’ रहेको थियो।

विश्वभरका विज्ञ तथा संस्थाहरूको सहभागिता रहेको उक्त सम्मेलनमा परिषद्ले विभिन्न छलफल, प्रस्तुतीकरण र सहयोगात्मक आदानप्रदानमार्फत अर्थपूर्ण उपस्थिति जनाएको हो। यसले विश्वव्यापी स्वास्थ्य अभ्यास र अनुसन्धानमा देखिएका चुनौतीहरूलाई सामना गर्न नेपाल सक्षम रहेको सन्देश दिएको छ।

परिषद्को नैतिक समीक्षा बोर्ड सन् २०१९ देखि नै एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका नैतिक समीक्षा समितिहरूको मञ्चसँग जोडिएको छ।

सन् २०१९ मा औपचारिक सदस्यता प्राप्त गरेसँगै परिषद्को समीक्षा प्रक्रिया र कार्यशैली अन्तर्राष्ट्रिय नैतिक मापदण्डअनुरूप रहेको प्रमाणित भएको थियो। साथै, यसले नेपालको सामाजिक र सांस्कृतिक मूल्यमान्यतालाई पनि उच्च सम्मान गर्दै आएको छ।

सहभागितामा मात्र सीमित नभई नेपालले यस नेटवर्कमा नेतृत्वदायी भूमिका समेत निर्वाह गर्दै आएको छ। यसको ज्वलन्त उदाहरण सन् २०२४ मा नेपालमा आयोजित ‘फर्काप’ अन्तर्राष्ट्रिय सम्मेलन हो। उक्त सम्मेलन विश्वस्तरीय मापदण्डमा कुनै सम्झौता नगरी भव्यताका साथ सम्पन्न भएको थियो।

राष्ट्रिय तथा क्षेत्रीय स्तरमा नैतिक समीक्षा प्रणालीलाई बलियो बनाउन परिषद्ले देखाएको यो प्रतिबद्धता र सक्रियताले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको विज्ञहरूले बताएका छन्।

Exit mobile version