नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे उद्घाटन गर्ने छन् ।
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्व चयनका लागि आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुनेछ ।
पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर अध्यक्षका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्ष १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना छ ।
एमालेको हिजो ९शुक्रबार० बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणको आधार तय गरिसकेको छ ।
बैठकले विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख मानिस सहभागी हुने दाबी गरेका छन् ।
उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीका अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ ।
जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।
