हेमजाका कवि मुकुन्द शरणको रथारोहण

santan ads

वरिष्ठ कवि एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई उहाँको जन्मस्थल पोखराको हेमजामा भव्य नागरिक अभिनन्दन गरिएको छ।

नेपाली भाषा, साहित्य तथा व्याकरणको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै मदन पुरस्कार विजेता उपाध्यायलाई रथारोहणसहित सम्मान गरिएको हो।

हेमजा साहित्य महोत्सवको अवसर पारेर मूल समारोह समितिले उहाँलाई रथारोहण गराएको थियो। हेमजाको लामा चौताराबाट सुरु भएको रथयात्रा साझा चोक, मिलन चोक हुँदै महोत्सवस्थल ज्ञान सागर एकेडेमीको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो।

उक्त ऐतिहासिक क्षणमा देशभरबाट आएका सयौँ स्रष्टा, गण्डकी क्षेत्रका वाङ्मयिक सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उपाध्यायको सम्मान सिङ्गो नेपाली भाषा र साहित्यकै सम्मान भएको बताउनुभयो। उहाँले ‘प्राकृत पोखरा’ कृति मार्फत उपाध्यायले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको समेत औँल्याउनुभयो।

सम्मानित व्यक्तित्व उपाध्यायले आयोजकप्रति आभार व्यक्त गर्दै नेपाली भाषा, साहित्य र व्याकरणका क्षेत्रमा अझै धेरै अनुसन्धान गर्न बाँकी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा वक्ताहरूले उपाध्यायलाई प्रकृतिलाई मानवीकरण र मानवलाई प्रकृतिकरण गर्ने सच्चा स्रष्टाको रूपमा चित्रण गर्दै उहाँको जीवन नै एउटा पाठशाला भएको उल्लेख गरे।

समारोहका बिच अन्य स्रष्टाहरूका कृतिहरू पनि सार्वजनिक गरिएको छ। सो अवसरमा शिव त्रिपाठीको ‘जिन्दगीका सय टुक्रा’, पण्डित माधव शरण पौडेलको कविता सङ्ग्रह ‘नेपाल के कम छ र ?’ तथा प्रेमराज पौडेलको ‘एक्लो रात’ म्युजिक भिडियो लोकार्पण गरिएको थियो।

हाल काठमाडौँको टंगालमा बसोबास गर्दै आउनुभएका उपाध्याय वि.सं. २०२१ सालमा ‘प्राकृत पोखरा’ (मूल) काव्यका लागि मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्व हुनुहुन्छ।

उहाँका निम्वार्क चरितम् (संस्कृत काव्य), शारणागति शतकम्, वरदान (उपन्यास), प्राकृत पोखरा (संस्कृत अनुवाद), महाभारत सूक्ति सुधा, धरती र आकाश, शैलसरिता, प्रस्तावना र विवेचना, सरल नेपाली शुद्ध नेपाली, अक्षर प्रज्ञा, पद्य प्रभा, व्याकरण चिन्तन लगायतका दर्जनौँ कृति प्रकाशित छन्।

यसका साथै उहाँका व्याकरण विज्ञान, पुराण संहिता, हिन्दी–नेपाली तथा नेपाली–हिन्दी शब्दकोश, भाषा भारती, व्यासावतरणम्, शब्द सम्पदा लगायतका थुप्रै कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेको जनाइएको छ।

Scroll to Top