टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो: प्रधानमन्त्री

-


     नयाँ लिपि    
     भाद्र १० गते २०८० मा प्रकाशित


भाद्र १०, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ।

आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुहुरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई जनगायकको उपाधि दिएको बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ।’’

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

नेपालको प्रगतिवादी सांगीतिक आन्दोलनका अथक योद्धा एवं जनताका गायक जेबी टुहुरेको स्मृति, जीवन र कार्यहरूसमेत समाविष्ट गरी जेबी टुहुरे फाउन्डेसनद्वारा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक जे.बी. टुहुरे नामक स्मृतिग्रन्थ लोकर्पण गर्न पाउँदा मलाई खुसी लागेको छ। सर्वप्रथम जनभाकाका माध्यमबाट आम जनसमुदायमा राजनीतिक चेतनाको जग र जागरणको उर्जा भर्नुहुने जनताका प्रिय गायक जेबी टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका विचार र योगदानको संरक्षण एवं भावी पुस्ताका निम्ति उर्जाशील विचार सम्प्रेषणका लागि फाउन्डेसनको भूमिकाप्रति कृतज्ञता प्रकट गर्दछु।

जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ। यसका निम्ति यहाँहरू सबैलाई बधाइ ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्राप्त गरेकोमा गौरवान्वित महसुस गरेको कुरासमेत यहाँहरूसमक्ष राख्न चाहन्छु।
स्मृतिग्रन्थमा जेबी टुहुरेको जीवन, विचार र कर्महरूका विविध आयामहरूलाई विभिन्न कोणबाट विश्लेषण र संश्लेषण गरिएको छ, समग्र पुस्तक पढ्दा टुहुरेको चेहरा स्मरणमा ल्याइदिन्छ। यहाँहरू प्रत्यक्ष, सघन र लामो संगत र सहकार्य गरेका व्यक्तित्वहरूका विचार, भावना र अनुभूतिको पुस्तकमा जसरी संकेन्द्रण भएको छ, यसले टुहुरेको समग्र जीवन बुझ्न र जीवन एवं कर्महरूबाट शिक्षा लिन अभिप्रेरित गर्दछ। यस अर्थमा यो पुस्तक धेरै गहन र महत्वपूर्ण भएको मैले पाएको छु।

जेबी टुहुरे फाउन्डेसनद्वारा प्रकाशित यस कृतिमा आकारका दृष्टिले मात्र नभएर विचार र अनुभूतिको दृष्टिले समेत जीवन्त र महत्वपूर्ण छ। पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वहरूका साथै घनिष्ठ मित्र र नातेदारहरूका विचार र भावना समेटिएका कारण पुस्तकले पूर्णाकार प्राप्त गरेको नै अनुभूति हुन्छ। यद्यपि, लेखकहरूलाई विधागत कार्यक्षेत्र तोकेर सामग्रीहरू सम्पादन गर्दा हरेक सामाजिक व्यक्तित्वका बहुआयमिक पक्षहरूको विश्लेषण र समीक्षा हुन सक्दछ भन्ने तथ्यतर्फ आगामी दिनमा फाउन्डेसनले ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु। साथै टुहुरेको व्यक्तिगत, राजनीतिक एवं सामाजिक जीवनी एवं उहाँहरूका सिर्जनाहरूको व्यवस्थित रूपरेखा समाविष्ट गरिएको भए पुस्तकले पूर्ण आकार प्राप्त गर्दथ्यो। प्रकाशकले आगामी दिनमा यसतर्फसमेत ध्यान दिनुहुन अनुरोध गर्दछु। पुस्तक सम्पादनका निम्ति सम्पादक, सहसम्पादक लगायतको सम्पादन मण्डलले जुन मेहेनत गरेको छ, त्यो आफै महत्वपूर्ण छ । यसका निम्ति उहाँहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।

जे.बी. टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो, यद्यपि उहाँको मूल विद्या र मुख्य योगदान चाहिँ प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन हो। जतिबेला हामी राजनीतिक आन्दोलनमा सक्रिय भएर जनतालाई जागृत गर्न, संगठित गर्न प्रयत्न गथ्र्यौं, कोरा विचार प्रवाहबाट जनसमुदायलाई संगठित गर्न निकै कठिन हुन्थ्यो। तर, जब साहित्यकार एवं संगीतकर्मीहरूको प्रस्तुति हुन्थ्यो, जनतामा विशेष प्रकारको अनुराग र आकर्षण हुन्थ्यो। साहित्य र संगीतको माध्यमबाट आम जनसमुदायलाई आकर्षित, प्रशिक्षित र संगठित गर्ने तथा राजनीतिक मन्तव्य, सिद्धान्त र दर्शनबाट परिस्कृत गर्दै नेतृत्वको रूपमा विकास गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको आम प्रवृत्तिको रूपमा विकसित हुँदै आएको छ। त्यही कुरालाई संश्लेषण गर्दै महान् जनयुद्धको क्रममा मैले बन्दुक, कलम र मादलको एकीकृत तागत पैदा गर्नुपर्ने कुरामा जोड दिएको थिएँ।