रम्बास कविता प्रयोगवादको फसल हो : ​बोहोरा

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


नेपाली वाङ्मयका सेवक मिलन बोहोरा नेपाली कवितामा नयाँ सुगन्ध थप्दै छन् । भारतको असमबाट बोहोराले रम्बास शैलीको कवितालेखन थालेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र इपत्रिका हुँदै रम्बास शैली भारत, नेपाल र विभिन्न देशमा रहेका नेपालीसम्म पुगिसकेको छ ।

बोहोराको पहिलो कृति रम्बास कविता सङ्ग्रह तानाबाना हो। अब पर्यायक्रममा गद्यकविता र उपन्यास प्रकाशित गर्ने उनको परिकल्पना छ। उनका कविता, लेख आदि धेरै पत्रपत्रिकामा छापिएका छन्। असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसङ्घ आदि संस्था, संगठनसँग उनी सम्बद्ध छन् । रम्बास कविताका आरम्भकर्ता बोहोरासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

नेपाली कविताको क्षेत्रमा अनेक विधा, उपविधा छन् । केही लोप भए, केही अस्तित्वका लागि संघर्षरत छन् । रम्बास कविता अरुभन्दा कसरी फरक छ ?

यसै सरसर्ती बुझ्दा कविता कविता नै हो। ती चाहे छन्दबद्ध हुन् या आधुनिक गद्यकविता हुन्, हाइकु हुन् वा मुक्तक, गजल, केस्रा या शीत हुन्। भावनात्मक र गठनात्मक दृष्टिकोणले सबैमा आआफ्नो पाराको महत्त्व छ। हजुरको प्रश्नको उत्तर दिनु पर्दा म यति नै भन्न चाहन्छु कि अचेल जसरी विभिन्न काव्य उपविधाका कविताहरू छन त्यसरी नै पाठकको रुचि पनि विभिन्न प्रकारको छ।सामाजिक सञ्जाल र प्रिण्ट माध्यममा हरदिन यति पठनीय सामग्री पाइन्छन् कि कुन पढुँ कुन छोडुँजस्त‍ो स्थिति हुन्छ।

उत्कृष्ट भए तापनि धेरै लामा लामा रचनाहरू पढ्न समय नै मिलाउन सकिन्न। एकदमै छोटा हुँदा पनि काव्य तिर्खा मेट्न नपाइ नै पढिसकिन्छ। यस्तो एक चयनको अन्योलमा परेको समयमा सय अक्षरमा लेखिएको रम्बास कविताले थुप्रै पाठकलाई आकृष्ट गर्न सक्छ भन्ने आशा मनमा लिएर यो उपविधाको सृष्टि गरिएको हो। जस्तो कि हामी जान्दछौँ कि मान्छेको ध्यान आकर्षण गर्न कुनै सामग्री वा धारणालाई विभिन्न रोचक वा व्यतिक्रमी पाराले उपस्थापन गरिन्छ। यो रम्बास कविता उपविधालाई पनि आकर्षक बनाउन एक चित्रात्मक रूप दिइएको छ।

यस उपविधालाई आजको दिनमा भारत, नेपाल र म्यानमारदेखि अँगाल्ने सयभन्दा बढी कवि भइसकेका छन्। यो अत्यन्तै आशाव्यञ्जक लक्षण भनेर म ठान्छु।

यस प्रश्नको उत्तरमा म अर्को कुरा के पनि भन्न चाहन्छु भने यो प्रयोगवादक‍ो एक फसल हो र यसको स्थायित्वको बारेमा अहिले नै केही भन्न सकिँदैन। सफल पनि हुन सक्छ असफल पनि। असफल हुन्छ होला कि भन्ने डरले प्रयोग नगर्नु पनि त प्रगतिशील विचारक‍ो अन्त्य हो। “डरको अगाडि जीत छ” भन्ने ज‍‍ोखिम उठाएको एक पहल हो यो रम्बास कविता। तर मेरो लागि खुसीको कुरा के हो भने यस उपविधालाई आजको दिनमा भारत, नेपाल र म्यानमारदेखि अँगाल्ने सयभन्दा बढी कवि भइसकेका छन्। यो अत्यन्तै आशाव्यञ्जक लक्षण भनेर म ठान्छु। यो कविता उपविधालाई ठोस कविता अन्तर्गत पर्ने दृश्यात्मक या चित्रात्मक कविता हो भनेर डा. गोविन्दराज भट्टराई, ज्ञान बहादुर छेत्री, रेवति रमण सापकोटा, लक्ष्मण अधिकारी र डम्बर दाहालजस्ता साहित्य जगतका प्रखर विज्ञजनले आआफ्नो समीक्षा या प्रतिक्रियामा भनिसक्नु भएको छ र यसैलाई सम्बल मानेर सिर्जना भइरहेका छन्।

अरू कविताहरूभन्दा कसरी फरक छ भन्ने प्रश्नको उत्तरमा यति नै भन्न चाहन्छु कि यो भावनात्मक कवितामात्रै नभएर दृश्यात्मक पनि हो र यसको कलात्मक आकृति र लेख्ने छुट्टै नियमसमेत भएकाले केही त अभिनव स्वरूप छ जसले गर्दा भिन्न स्वाद् खोज्नेहरूले रुचाएका छन्।

साहित्य साधनामा कस्ता कस्ता काम गरेपछि यो नयाँ विधातर्फ तपाई आकर्षित हुनुभयो ?

साहित्यमा, खासगरी काव्य विधामा, मेरो रुचि स्कूल, कलेजको दिनदेखि नै छ। त्यस हिसाबले करिब करिब चालीस पैँतालीस वर्ष भइसकेछ। गद्यकविता, गजल, मुक्तक, हाइकु आदि सबै स्थापित उपविधामा लेख्ने क्रम अझसम्म जारी छ। एउटा उपन्यासको पाण्डुलिपि पनि तयार छ। कुनै दिन अनुकूल समयमा प्रकाश गर्नेछु। यो नयाँ उपविधातर्फ मेरो आकर्षण भएको कारणचाहिँ केही व्यतिक्रमी अभिनव काम गर्ने लालसाले भएको हो।

यो नयाँ उपविधातर्फ मेरो आकर्षण भएको कारणचाहिँ केही व्यतिक्रमी अभिनव काम गर्ने लालसाले भएको हो।

सधैँ एकै प्रकारको लेख्ने र पढ्ने बाध्यता भएकाले मन एकप्रकारले नयाँको खोजीमा अनुसन्धित्सु भइसकेको थियो, छट्पटी भइरहेको थियो। 2020 सनमा सिर्जनात्मक काममा रहनेहरूको लागि  वरदान स्वरूप आइलागेको कोरोनाकालिन लकडाउनले मलाई पनि समय र परिवेश दियो। त्यही समयमा धेरै तरिकाले कवितामा प्रयोग गर्दागर्दै यो उपविधा भूमिष्ठ भयो। प्राय दुई महिना जतिको अभ्यासपछि यसले एक रूप लियो र मैले सामाजिक सञ्जालमा पोस्ट गर्नथालेँ। कसैले सकारात्मक, कसैले नकारात्मक त कसैले ठट्यौली समेत गरे। तर जब मेरा शुभचिन्तक साहित्यिक, समालोचक ज्ञान बहादुर छेत्रीज्यूले यसलाई निरन्तरता दिने प्रेरणा दिनुभयो तब मेरो हौसला दोब्बर भयो र आजसम्म यसैको लागि आत्मोत्सर्ग गरेको छु।

यसको नामकरण कसरी भयो ?

सतताको साथ भन्नू हो भने मलाई concrete poetry (ठ‍ोस कविता) बारे केही नै जानकारी थिएन। विभिन्न आकृतिमा कविता रचना गर्दागर्दै यो आकृतिले जन्म लियो। धेरैलाई यसको नाम के सही होला भनेर परामर्शसमेत माँगे। कसैले चतुष्कोणी, कसैले शङ्ख, कसैले पाञ्चजन्य, कसैले मादल आदि विभिन्न नामको सुझाव दिए। तर ज्ञान बहादुर छेत्रीज्यू र मेरो सोचमा एकरूपता भएकाले र कुनै दिन विस्तृति भेट्दै नेपालीबाहेक अरू भाषामा पनि लेखियो भने सर्वग्राह्य हुन सक्छ भन्ने सोचेर यसको ज्यामितीय आकृतिको नाम रम्बास राखियो। ठिकै गरियो जस्तो लाग्दैछ आज। किनभने विस्तारै अहिले यतातिरको स्थानीय भाषा असमिया र राष्ट्रभाषा हिन्दी भाषामा कविता लेख्नेहरूले पनि रुचि लिएर फट्याक फुटुक लेख्न थालेका छन्।

जीवन, जगतका अनेक पक्षमध्ये कुन पक्षलाई अरु विधाले समेट्न सकेन र यो उपविधा जन्मियो ?

यस प्रश्नको उत्तर त्यति सजिलोसँग दिन सकिन्छ जस्तो लाग्दैन मलाई। किनभने भिन्नभिन्न मनको भिन्नभिन्न भावना हुन्छ। खप्पिस भावना उतार्न सक्नेले सत्र अक्षरको हाइकुमा जीवन, जगत उतार्न सक्छन भने रम्बास कवितामा सय अक्षरले भावना पोख्नसक्ने स्वतन्त्रता दिएको छ। यो त कविको आआफ्नो कुशलता र भावनाको गभीरतामाथि निर्भर गर्छ। एउटामात्र शब्दको कविता पनि छन् ।

रम्बास कवितामा दृश्यात्मक बन्धनलाई जोड दिनुपर्दा भाव पक्ष कमजोर हुँदैन ? रम्बासका संकलनहरु पनि प्रकाशित छन् कि ?

भावपक्ष र दृश्यात्मक पक्षको बीचमा कुनै सङ्धात छैन। जब यो कविता नियमानुसार लेखिन्छ तब पहिला भाव पक्षमात्रै मुख्य हुन्छ। यो पक्ष सबल र निर्भूल भएपछिमात्रै कलात्मक रूप दिने काम हुन्छ। यसोगर्दा मोबाइल या कम्प्युटरको स्पेस कीको बढी मात्रामा व्यवहार हुन्छ। कविताको भावना ज्युँको त्युँ रहन्छ अनि आकृति पनि।

अहिले यतातिरको स्थानीय भाषा असमिया र राष्ट्रभाषा हिन्दी भाषामा कविता लेख्नेहरूले पनि रुचि लिएर फट्याक फुटुक लेख्न थालेका छन्।

यसक‍ो आकृति मिलाउँदा कसै कसैले आवश्यकताअनुसार  (~,- ) यस्ता चिन्ह व्यवहारमा ल्याएको पनि देखिन्छ। जहाँसम्म रम्बास कविता सङ्कलनको विषय छ हालैमा मेरो एकल सङ्कलन “तानाबाना” प्रकाशित भइसकेको छ। मेरोपछि नै आसामकै कवि अर्जुन उप्रेतीज्यूले  “घुम्तीमा नआउ है” नामको कविता सङ्कलनमा आधाजसो गद्यकविता र आधा रम्बास कविता छाप्नुभएको छ। हाल हामी भारतमा सक्रिय रहेका रम्बासकारहरूको कविता सङ्ग्रह प्रकाशित गर्ने तर्खरमा छौँ जसको जमर्को काव्यप्रेमी भाषाविद् देवीचरण सेँडाइ,  खडानन्द दुलाल र पुरुषोत्तम दाहालज्यूहरू गर्दै हुनुहुन्छ।

के के भयो भने रम्बास कविता बन्छ ? यसको सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रकाश पारिदिनुहोला।

प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो।
यसको लेख्ने नियम यसप्रकार छ

यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ।
१).यसमा जम्मा सय अक्षर र उन्नाइस पङ्क्ति हुन्छन् ।
२). एउटा अक्षरको शब्ददेखि शुरु भएर एउटै अक्षरमा समाप्त हुन्छ।
३). एक दुई अक्षर गर्दै दस अक्षरसम्म पुगेपछि फेरि नौ, आठ, सात गर्दै एक अक्षरमा टुङ्गिन्छ।
४). आरम्भको र अन्त्यको अक्षर भिन्नाभिन्नै या एकै हुनसक्छन्।
५). यस शैलीमा भावपक्ष जति महत्त्वपूर्ण हो यसको रम्बासीय आकृति पनि उत्तिकै महत्त्वपूर्ण हो।
आकृति र भावना दुवै यस कविता उपविधाका आत्मा हुन्।

यस्तो हुन्छ रम्बास कविता:

रम्बास कविताका कमजोरी र बलिया पक्ष के के हुन् ?

जति पनि नियम अनुसरण गरेर लेख्नुपर्ने काव्यविधा हुन्छन् त्यहाँ कतिपय अन्तर्निहित सीमाबद्धताहरू हुन्छन् नै। उदाहरणको लागि अक्षर सङ्ख्या, अनुप्रास, छन्द या तुक, पंक्ति आदिको नियम हुँदा स्वतन्त्रता कम हुन्छ र यस्तोखाले कमजोरी पक्ष यसमा पनि छ। तर हाम्रो भाषामा शब्दको प्राचुर्यताले गर्दा रम्बास कवितामा धेरै कठिनता भने छैन। सय अक्षरमा आफ्नो भाव पोख्न कसैलाई साह्रोपर्छ, कसैलाई पर्दैन।

आजको दिनमा सजिलैसँग उपलव्ध मोबाइल या कम्प्युटरका सुविधाहरू राम्रोसँग व्यवहार गर्न नसके रम्बासीय आकृति दिन अप्ठ्यारो हुन्छ अनि आकृति राम्रो भएन भने यो कविताको सौर्न्दर्य नै रहँदैन। यस अर्थमा कतिपयले यसलाई हाइटेक्, डिजिटल कविता पनि भने।

सबल पक्षभन्दा यसको चित्रात्मक कलाकारिता र नातिह्रस्वदीर्घ संरचना हो। अर्को हो शब्द चयन गर्नुपर्दा भाषाको अधिक जानकारी पाउनु। एउटै अर्थ बुझाउने धेरै शब्दको जानकारी भएमात्रै खँदिलो रम्बास कविता सिर्जना गर्न सकिन्छ र मलाई लाग्छ यस्ता कविता लेख्नेहरूले निकै भाषासम्बन्धि ज्ञान आर्जन गर्नुपर्ने हुन्छजस्तो मलाई लाग्छ।

यसको सुरुआतको अवस्था र अहिलेको अवस्थामा के कति फरक पाउनुभएको छ ? आम कवि, साहित्यकार, समालोचकले रम्बासलाई कसरी लिएका छन् ?

नयाँ प्रयोग गर्दा प्रारम्भमा समस्या त हुन्छन् नै। हामी असमेली नेपालीभाषी गोर्खाहरूको एउटा आम समस्या हो नेपाली भाषामा पठनपाठनको अभाव र भाषिक शुद्धतामा कमजोरी। तर पनि भाषाप्रेमले गर्दा भूल हुन्छ कि भन्ने डर मनमा नराखि लेख्दा केही अशुद्धता रही नै जान्छ। यसलाई यदि कमजोरी ठान्नु हो भने आरम्भमा हामी धेरैजसोलाई भएको थियो, भइरहेको पनि छ। तर अहिले हाम्रो बीचमा नेपाली भाषा पठनपाठन गर्ने छात्र-अध्यापक, भाषाविद् आदि जानकार व्यक्ति जोडिएकाले धेरै सहयोग पाएका छौँ र शुद्धताको मानदण्ड उन्नत भएको जस्तो लाग्छ। तर अझै धेरै धेरै सिक्न बाकी नै छ। दोस्रो प्रारम्भिक समस्या हो आकृति दिनुमा सिद्धहस्त हुन समय लाग्ने।

जहाँसम्म नयाँ रम्बास लेख्ने कवि, साहित्यकार, समालोचक आदिले रम्बास कवितालाई कसरी लिए भन्ने प्रश्न हो त्यसमा यति भन्न चाहन्छु कि यस उपविधाले न्यानो माया पाएको छ। मेरो रम्बास कविताको पहिलो पुस्तक “तानाबाना”को भूमिका भारत सरकारबाट साहित्य अकाडेमी पुरस्कार प्रापक विशिष्ट समालोचना साहित्यिक ज्ञानबहादुर छेत्रीज्यूले लेखिदिनुभएको छ। त्यसै पुस्तकको समीक्षात्मक लेख असम नेपाली साहित्य सभाका भूतपूर्व सभापति डम्बर दाहालज्यू र युवा समालोचक लक्ष्मण अधिकारीज्यूले गर्नुभएको छ। रेवतिरमण सापकोटाज्यूले असम, सिक्किम र नेपालका पत्रिकामा रम्बास कविताबारे लेख लेख्नुभएको छ।

भारत, नेपाल र म्यानमारका सयभन्दा धेरै कविले यो उपविधामा कलम चलाइरहेका छन् । शैशव कालमै यसले राम्रो गति भेटेको छ र हामी आशावादी छौँ कि यसले एक दिन स्थापित उपविधाको मर्यादा पाउनेछ।

रम्बास कवितालाई अघि बढाउन कुनै अभियान, संस्था वा समूह निर्माणबारे सोच्नुभएको छ कि ?

यस उपविधालाई अघि बढाउन भनेर त्यस्तो उल्लेखनीय वृहत् अभियान केही चलाएको छैन भन्दा पनि हुन्छ। यही सामाजिक सञ्जाल, पत्र-पत्रिका आदि नै व्यापक रूपमा व्यवहार गरिएको छ। ह्वाट्सएप, फेसबुक र युट्युबले यसको प्रचार प्रसारमा ठूलो मद्दत पुर्याएको छ। साथै, यसै 2021 सनभित्रै सबै भारतेली रम्बासकारका कविताको सङ्कलन निकाल्ने तैयारी चल्दैछ। त्यसपछि यस उपविधाको सैद्धान्तिक अवधारणाको छलफल गर्न एक कार्यशाला आयोजना गर्ने परिकल्पना छ। हामीलाई आशा छ, असमक‍ो अग्रणी नेपाली साहित्य सङ्गठन ‘अनेसास’ले यस अभियानमा सम्पूर्ण सहयोग पुर्‍याउनेछ।

सम्पर्क:- [email protected], Mobile:-+916000547564