रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराको रजत वर्षको अवसरमा आयोजित ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ भव्यरुपमा सम्पन्न भएको छ ।
रेडियोले झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि, संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत मंसिर महिनाको कार्यक्रम अन्तरगत नेपाली साँगीतिक क्षेत्रका दुईजना स्रष्टा नारायण गोपालको मंसिर १९ र झलकमान गन्धर्वको मंसिर ६ गते परेको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए ।
झलकमान गन्धर्व सारङ्गी पाठशालाले सारङ्गी संरक्षणमा गरिरहेको योगदानलाई ध्यान दिदैँ कार्यक्रममा जोडिएको बताए । पाठशालाका प्रतिभालाई यस्ता कार्यक्रमको अवसर आवश्यकता परेको महसुस आफूहरूले गरेको उनले उल्लेख गरे ।
यसमा सबैको साथ सर्पोट मिलेको उनले सुनाए । मुख्य साथ पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले दिएकोले कार्यक्रम भव्य हुन सघाएको उनको भनाइ थियो ।
पोखराको महेन्द्रपुलमा रहेको फल्चामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सारङ्गी पाठशालाका प्रतिभालाई बाहिर ल्याउने र थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको बताए । यो कार्यक्रमप्रति सबैले देखाएको चासो प्रति उनले खुशी व्यक्त गरे ।
गीतकार समेत रहेका विशिष्ट अतिथि तीर्थ श्रेष्ठले झलकमान गन्धर्व र नारायण गोपालको बारेमा चर्चा गरेका थिए । उनले दुवै स्रष्टाले साँगीतिक क्षेत्रमा गरेको योगदानबारे फेहरिस्त सुनाएका थिए । जसका कारण उपस्थित दर्शकले स्रष्टाहरू बारेमा थप जानकारी पाउने अवसर प्राप्त गरे ।
कन्दरा व्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले सन्देशमूलक कार्यक्रम आयोजना भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा प्रशिक्षण गर्ने अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुती राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए ।
कार्यक्रममा उनीहरूले स्वर सम्राट नारायण गोपाल र झलकमान गन्धर्वका गीत एक पछि अर्को गरेर सुनाउँदा उपस्थित दर्शकले खुलेर साथ दिए ।
कार्यक्रममा उनीहरु आमाले सोध्लिन् नी खोइ छोरा भन्लिन्… गीतबाट प्रस्तुती राख्न सुरु गरे । एक पछि अर्को गीत सुनाउदै दर्शकको ध्यान खिच्न उनीहरु सफल भए । अन्तिममा बोनस गीतको रुपमा पोखरेली अर्का स्रष्टा बुद्धि परियारको रेशम फिरिरि… गीत सुनाएर प्रस्तुतीको बिट मारेका थिए ।
रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो। र रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २५ वर्षको अवधिमा रेडियोले सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ ।
