बचत फिर्ता गर्ने ग्यारेण्टीपछि छुटे पोखरा सहकारीका ८ सञ्चालक, ३१ करोडको सुरक्षण

 बचतकर्ताको करिब ८९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका पोखरा सहकारीका ८ जना सञ्चालकहरू रकम फिर्ता गर्ने ग्यारेन्टीपछि हिरासतमुक्त भएका छन्।

कात्तिक १९ गते पक्राउ परेका संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रबन्धकसहितका पदाधिकारीहरूले करिब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति सुरक्षण स्वरूप बुझाउने र आगामी ३ देखि ४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरू छुटेका हुन्।

कास्की प्रहरीका अनुसार सञ्चालकहरूले २७ करोड रुपैयाँ बराबरको घरजग्गा र ४ करोड रुपैयाँको चेक सुरक्षणका रूपमा राखेका छन्।

प्रहरीले ठगी मुद्दामा १ वर्षसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि पीडितको रकम फिर्तालाई पहिलो प्राथमिकतामा राख्दै हदम्याद तोकेर उनीहरूलाई छाडेको हो।

प्रहरीले तोकिएको समयसीमाभित्र रकम फिर्ता नभए तत्काल पुनः पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।

सहकारी रजिस्ट्रारको कार्यालयको वित्तीय प्रतिवेदनका आधारमा पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रसाद गुरुङ लगायत ८ जना छन्।

बचत फिर्ता प्रक्रियालाई व्यवस्थित र विश्वसनीय बनाउन प्रहरी, बचतकर्ता र आरोपी पक्षबीच समन्वय समिति समेत गठन गरिएको छ।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको पोखरा बचत सहकारीको प्रधान कार्यालय पोखरा–९, नयाँबजारमा रहेको छ भने पोखरा–१० अमरसिंह चोक र पोखरा–८ सिर्जनाचोकमा सेवा केन्द्रहरू सञ्चालनमा थिए। सहकारीमा करिब ४ हजार सर्वसाधारणको बचत रहेको छ।

Exit mobile version