जेनजी अभियन्ता सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय, कास्की पुगेर आन्दोलनका दौरान समातिएकाहरुकाबारे प्रश्न उठाएका छन् ।
सुदनले आन्दोलनमा देखिएका, बोलेकामाथि पनि धरपकड भएको भन्दै यसबारे जान्न खोजेका छन् ।
कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतको कार्यकक्षमा जेनजी प्रतिनिधसहित उपस्थित भएका सुदनले पक्राउ परेकाहरुबारे कारण माग गरेका थिए ।
सुदनको प्रश्नमा डीएसपी बस्नेतले कुनैपनि आन्दोलनकारीलाई हालसम्म पक्राउ नगरेको भन्दै प्रहरीका ५ वटा हतियारसहित प्रदर्शनमा देखिएका व्यक्तिलाई पनि प्रमाणीकरणपश्चात् तुरुन्तै छाडेको बताएका छन् ।
‘आन्दोलनमा ढुंगामुढा गर्ने, प्रहरी बीट, आइल्याण्डलगायत तोडफोड र आगजनी गर्नेलाई पनि समातिएको छैन’ डीएसपी बस्नेतको जवाफ छ ‘यस्ता व्यक्तिमध्ये कास्की प्रहरीले कसैलाई पनि धरपकड गरेको छैन ।’
कसैले किटानी जाहेरी दिएकैभरमा पनि पक्राउ नगरेको भन्दै बस्नेतले व्यक्तिको सम्पत्तिमाथि क्षति पुर्याउनेलाई कानूनी दायरामा भने ल्याउने काम भइरहेको बताएका छन् ।
‘प्रहरीसँग भएका र विभिन्न स्रोतबाट प्राप्त तस्बिर र भिडिओको अध्ययनपछि मात्र पक्राउ गरिएको छ’ बस्नेतले भने ।
एकजना महिलालाई बोलेकै भरमा समातेको भन्दै आपत्ति जनाउँदा बस्नेतले व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी गर्न तीनपटकसम्म उक्साएको पाइएपछि कानुनी कारवाही गर्न समातेको उनले बताए ।
