नेपाली सेनाका अधिकृतलाई गण्डकी प्रहरीको प्रशिक्षण

नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीका शिक्षार्थी अधिकृतहरूलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा शान्ति सुरक्षा र आपसी सहकार्यका विषयमा प्रशिक्षण दिइएको छ।

कलेजमा सञ्चालित सि.सं. ३२ सैनिक कमान्ड तथा स्टाफ तालिम अन्तर्गत भ्रमणमा रहेका शिक्षार्थी अधिकृतहरूलाई प्रदेशभित्रको सुरक्षा अवस्था र समन्वयबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रशिक्षणका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले प्रदेशको समग्र वस्तुस्थितिबारे प्रस्तुतीकरण दिएका थिए।

उनले गण्डकी प्रदेशको भौगोलिक अवस्था, यहाँ हुने अपराधका प्रवृत्ति, प्राकृतिक विपद्को जोखिम तथा नेपाली सेना र नेपाल प्रहरीबीचको सहकार्यका विविध पक्षमा शिक्षार्थीहरूलाई जानकारी गराए।

कार्यक्रममा शिक्षार्थी अधिकृतहरूले राखेका जिज्ञासाहरूलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले दुई सुरक्षा निकायबीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए।

डीआईजी आचार्यले भने, ‘समाजमा शान्ति र सुरक्षा कायम राख्न नेपाली सेना र नेपाल प्रहरीबीचको सहकार्य अपरिहार्य छ।’

Exit mobile version