गण्डकी प्रदेशमा आधुनिक सुविधा सम्पन्न प्राविधिक शिक्षालय स्थापना गर्ने प्रक्रिया अघि बढेको छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहत सञ्चालन हुने ‘गण्डकी प्राविधिक शिक्षालय पूर्वाधार निर्माण तथा सञ्चालन परियोजना’को प्रारम्भिक अध्ययन तथा सर्वेक्षणका लागि कोरियन सहयोग नियोग (कोइका)को टोली पोखरा आएको मन्त्री विन्दुकुमार थापाले जनाएका छन् ।
परियोजनाको ‘किकअप सर्वेक्षण’का लागि आएका कोइकाका प्रोजेक्ट म्यानेजर नोह युन जु नेतृत्वको टोली र मन्त्रालयका उच्च अधिकारीहरूबीच मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको मन्त्री थापाले बताए ।
भेटका क्रममा गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको अवस्था, आवश्यक सीप विकासका योजना र शिक्षालयका लागि आवश्यक व्यवस्थित पूर्वाधार निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफल अत्यन्तै फलदायी रहेको र यसले परियोजना कार्यान्वयनमा सहजता थप्ने विश्वास गरिएको छ।
कोइकाको प्राविधिक सहयोगमा सञ्चालन हुने यस परियोजनाले प्रदेशका युवाहरूलाई गुणस्तरीय सीप सिकाउनुका साथै रोजगारीको अवसर विस्तारमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा रहेको थापाले जनाए ।
‘परियोजना दक्ष जनशक्ति उत्पादन गरी बजारमा खपत गराउन यो परियोजना कोसेढुङ्गा सावित हुने छ’ थापाले भनेका छन् ।
गण्डकी प्रदेश सरकारले दातृ निकाय कोइकासँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारले सहयोग, समन्वय र साझेदारीको भावनासहित यो परियोजनालाई निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रालयले आगामी कार्यहरूका लागि कोइकाको टोलीलाई स्वागत गर्दै सफलताको शुभकामना समेत व्यक्त गरेको छ।
