-उत्सव महरा
आजको खेल हेर्न म मैदान पुगेको थिएँ। म एनसेल जोन भित्रैबाट सबै अवलोकन गरिरहेको थिएँ। तर केही दृश्यहरू अत्यन्तै नमिठो लागे।
जनकपुर बोल्डसका समर्थकहरू आफ्ना छक्का–चौकामा खुसी मनाउँदै, म्यूजिकमा नाच्दै, खेललाई खेलकै रूपमा रमाइरहेका थिए।
तर धेरै सुदूरपश्चिम समर्थकको व्यवहारले निराश बनायो। उनीहरू आफ्नै टिमको खेलभन्दा बढी जनकपुर समर्थकलाई लक्षित गर्दै अभद्र टिप्पणी गर्नमै व्यस्त देखिन्थे । उनीहरूले प्रयोग गरेका शब्दहरू यति कठोर र विभेदपूर्ण थिएः
“धोतीलाई आउट गर”, “कालेको छोरो”, “मास्क बोकी राख , हारेपछि काम लाग्छ” त्यसमाथि पनि ५–५ रुपैयाँका नोट उडाउँदै “पान खान जाऊ” भन्ने व्यवहार । यी सबैले खेलभन्दा बढी सम्पूर्ण समुदायको मानमर्यादामाथि प्रहार गरिरहेको अनुभूति भयो।
सुदूरपश्चिमका पुरुष तथा महिला दुवै प्रकारका दर्शकबाट यस्ता शब्द सुन्नु अझै दुःखद लाग्यो। समुदाय, पहिचान र संस्कृतिमाथि यस्तो सार्वजनिक अपमान हुनु अत्यन्त गम्भीर विषय हो। सुदूरपश्चिम फाइनल पुग्छ कि पुग्दैन, त्यो उनीहरूको भाग्य। तर जनकपुर बोल्डसले पहिलो सिजनमै सुदूरपश्चिमलाई हराएर उपाधि उठाएको इतिहास नर्बिसोस ।
आज मैदानमा देखिएको विभेद र घृणाले चाहिँ खेलकुदको भावना कमजोर बनाइरहेको छ। खेल मनोरञ्जन हो, समुदायलाई हेप्ने थलो होइन। यस माथि राज्यले ध्यायन दिएन भने भोलिका दिनमा अप्रिय घटना हुने निश्चित छ ।
