अब अस्पताललाई ‘जेनेरिक’ नाममा औषधि लेख्न प्रतिष्ठानको निर्देशन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना मातहतका चिकित्सकहरूलाई औषधी सिफारिस गर्दा कम्पनीको नाम (ट्रेड नेम) नभई अनिवार्य रूपमा ‘जेनेरिक नाम’ लेख्न निर्देशन दिएको छ।

प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पंगेनीले आइतबार एक सूचना जारी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका स्वास्थ्य इकाइहरूमा यो नियम तत्काल कार्यान्वयन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

सूचनामा स्वास्थ्य बिमा अन्तर्गतका बिरामीका लागि ‘कम्बाइन मेडिसिन’ सिफारिस नगर्न समेत सचेत गराइएको छ।

केही समयअघि ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले डाक्टरहरूले कमिसनको लोभमा महँगा ब्रान्डेड औषधी लेख्ने गरेको भन्दै विरोध जनाएको थियो।

अभियानका संयोजक गणेशबहादुर थापाको नेतृत्वमा गएको टोलीले कात्तिक २६ गते प्रतिष्ठानलाई ज्ञापनपत्र बुझाउँदै जनस्वास्थ्य सेवा ऐन २०७५ र मेडिकल काउन्सिलको आचारसंहिता अनुसार जेनेरिक नाम लेख्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेको थियो।

सोही माग र कानुनी व्यवस्थालाई सम्बोधन गर्दै प्रतिष्ठानले यो कदम चालेको हो।

यसअघि सस्तोमा पाइने औषधीलाई पनि डाक्टरले ब्रान्डको नाम लेखिदिँदा सर्वसाधारणले निजी फार्मेसीबाट महँगो मूल्य तिर्नुपर्ने बाध्यता थियो।

Exit mobile version