स्वास्थ्य बीमाका नाममा महंगो औषधि किन्नुपर्ने बाध्यता, अस्पतालमै अभियानको खबरदारी

सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमाको लाभ बिरामीले पाउन नसकेको र महंगोमा औषधी खरिद गर्न बाध्य पारिएको भन्दै पोखराका अभियानकर्मी असन्तुष्ट भएका छन् ।

पोखराको ‘नीतिगत सुधारकालागि नागरिक अभियान’ (स्ट्यान्ड अप फर पोखरा)ले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर उल्लेखित समस्याको अवगत गराउँदै तत्काल समस्या सम्बोधन गर्न दबाब दिएको छ ।

मूलतः चिकित्सकहरुले औषधि सिफारिश गर्दा जेनेरिक (सामान्य) नाम प्रयोग नगरेको र बिरामीले नबुझिने शैलीमा प्रेस्क्रिप्शन एवं औषधिको नाम नलेखेकोप्रति अभियानले आपत्ति जनाएको छ ।

अभियानका संयोजक गणेशबहादुर थापाको नेतृत्वमा आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा प्रेमराज पंगेनीलाई उनकै कार्यकक्षमा भेटेर आइन्दा बिरामीलाई औषधि दिँदा जेनेरिक नाम प्रयोग गर्न सुझाएको छ ।

संयोजक थापाले निर्देशक पंगेनीसमक्ष भनेका छन् ‘अब पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अटेर गरे मेडिकल काउन्सिलको संहिताअनुसार कानूनी उपचारमा जान बाध्य हुनेछौं ।’

त्यस्तै, गुणस्तर नभएको औषधि सुझाएको खण्डमा पनि कानूनी कारवाहीको प्रक्रियामा जान बाध्य हुने थापाले बताए ।

अभियानले उल्लेखित विषयलाई समेट्दै ३ पृष्ठ लामो ध्यानाकर्षणपत्र निर्देशक पंगेनीलाई बुझाएका छन् । जसमा मन्त्रीस्तरतीय निर्णय, मेडिकल काउन्सिलको संहिता, कानूनी पाटा र उपभोक्ता हकसमेत समावेश गरिएको छ ।

‘बिरामीले बुझ्ने गरी औषधिको जेनेरिक नाम नलेखी ट्रेड नाम प्रयोग गरे अन्तर्राष्ट्रिय चिकित्सको आचार संहिता र व्यावसायिक आचरण विपरित कार्य गरेको ठहर्छ’ पत्रमा उल्लेख छ ।

चिकित्सकहरुले अझैपनि अस्पष्ट अक्षरमार्फत औषधि लेखिदिने र ट्रेड नेम लेखेको प्रेस्क्रिप्सन दिए तत्काल जानकारी गराउनसमेत अभियानले अपील गरेको छ ।

करिब ३ महिना अघि स्थापना भएको अभियानले जनसरोकारका विषयमा आवाज उठाउँदै आएको छ ।

यसअघि कास्की मालपोत कार्यालयले श्रेस्ता कायम गराउन निकालेको सूचनाले जग्गाधनीलाई अनावश्यक भार पारेको भन्दै खबरदारी गरेको थियो ।

अभियानको खबरदारीपछि मालपोतले उक्त सूचना संशोधन गरिसकेको छ ।

Exit mobile version