गण्डकी प्रदेशमा सहकारी संस्थाहरूमा बचत रकम हिनामिनाको समस्या विकराल बन्दै गएको छ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिनमा हालसम्म १७ वटा सहकारीबाट साढे ५ अर्बभन्दा बढी रकम अपचलन भएको तथ्य बाहिर आएको हो।
कार्यालयका अनुसार बचतकर्ताको रकम फिर्ता नदिने र हिनामिना गर्ने १७ सहकारीलाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी समक्ष पठाइएको छ।
जसमा सबैभन्दा धेरै रकम हिनामिना गर्नेमा पोखराको प्राइम बहुउद्देश्यीय (१ अर्ब ५४ करोड), म्याग्दीको कुमारी बहुउद्देश्यीय (१ अर्ब ४९ करोड) र बागलुङको इमेज बचत तथा ऋण सहकारी (१ अर्ब ३३ करोड) रहेका छन्। यी तीन सहकारी मात्रै हिनामिनाको ठूलो हिस्सा ओगटेका छन्।
पोखराको मित्रमिलन, कास्कीको विन्दबासिनी, नवलपुरको छिपछिपे, पर्वतको नागढुंगा, ग्रामीण विकास, तपाई हाम्रो बहुउद्देश्यीय लगायतका सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ।
त्यस्तै, पोखरा बचत तथा ऋण सहकारीको करिब ८९ करोड हिनामिना ठहर भई प्रहरीमा पठाइएको छ भने लमजुङको कालिका सहकारीको मुद्दा मिलापत्र भइसकेको छ।
यसैगरी, तनहुँको सिद्ध सहकारी र कास्कीको सिटी सहकारी लगायत ५ संस्थामा छानबिन लगत्तै ५० करोड रकम असुलउपर भई बचतकर्तालाई फिर्ता गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले चालु आर्थिक वर्षमा १५० सहकारीको अनुगमन गर्ने र समस्याग्रस्त सहकारीको पुनः छानबिन तथा अभिलेख अद्यावधिक गर्ने योजना बनाएको छ।
