गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको संयोजनमा पोखरामा सहकारी समस्या समाधानसम्बन्धी अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले नियमनकारी निकाय र सहकारी सदस्यहरुकै बेवास्ताका कारण सहकारीमा समस्या बढेको बनाए । कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीका रजिस्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशका विभिन्न सहकारीबाट ५ अर्ब ६३ करोड ४१ लाख ३९ हजार ९६२ रुपैयाँ हिनामिना भएको बताए ।
रजिस्ट्रार रिजालले प्रदेशभरका १७ सहकारीको मुद्दा विचाराधीन अवस्थामा रहेको बताए। उनका अनुसार सबैभन्दा बढी रकम कास्कीको पोखरामा सञ्चालनमा रहेका सहकारीहरूबाट हिनामिना भएको छ।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाबाट १ अर्ब ५४ करोड रुपैयाँ, म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाबाट १ अर्ब ४९ करोड रुपैयाँ र बाग्लुङमा प्रधान कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि।बाट १ अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको तथ्यांकमा उल्लेख छ।
रजिस्ट्रार रिजालका अनुसार गण्डकी प्रदेशभर ९०१ वटा सहकारी दर्तामा छन्। तीमध्ये ५८३ ले अद्यावधिक गरेका छन् भने ३१८ वटा सहकारी निष्क्रिय छन्।
जिल्लागत रूपमा कास्कीमा सबैभन्दा बढी २२५ वटा सहकारी दर्ता भएका छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्र सहकारी छ। यी सहकारीहरूमा ६ लाख ९४ हजार २१९ शेयर सदस्य छन् भने २ हजार २३५ कर्मचारी कार्यरत छन्।
रिजालले सहकारीमा अधिक लाभांश वितरण गर्ने प्रवृत्ति, पुँजी र निक्षेपको बचत अनुपात नमिल्नु, स्रोतमा लागत विश्लेषण गर्न नसक्नु, कमजोर संस्थागत संयन्त्र, आन्तरिक वित्तीय व्यवस्थापन कमजोर, नियामक व्यवस्थाको अभाव, कानुनको परिपालन नहुनु, तरलताको प्रभाव, कमजोर धितो राखी ऋण प्रवाह गर्ने, बिना धितो ठूला ऋण प्रवाह गर्ने जस्ता कारणले समस्या भोगिरहेको बताए।
ऋण लगानीको असुलीमा ध्यान नदिँदा, कर छली गरी गैरकानुनीरूपमा सीमित व्यक्तिले बोनस लिँदा, साधारणसभामा गणपूरक संख्यासमेत नपुगी यथार्थ निर्णय नहुँदा पनि समस्या परिरहेको उनको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले सहकारीमा उपलब्धिसँगै समस्या फैलिरहेकाले समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
उनले देशभर ३२ हजार ९६५ वटा सहकारीमा १ करोड ९ लाख सदस्य आवद्ध भएको जानकारी दिँदै त्यसमा ११ खर्ब २५ अर्ब रुपैयाँ बचत भएको बताए। सहकारीहरूमा ९० हजार २६५ जनाले रोजगारी पाएको उल्लेख गर्दै पछिल्लो समय समस्या पैदा हुँदै गएको उनले बताए।
