नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।
काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।
विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए । १६ बलको सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यसैगरी, मार्टिन गप्टिलले २५ र नरेन साउदले २४ रन जोडे ।
बलिङतर्फ काठमाडौंका शाहब आलमले २ विकेट लिए । जेरहार्ड एरास्मस, करण केसी र सन्तोष यादवले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
