नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले मंसिरभित्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न माग गरेको छ।
शनिबार पोखरामा आयोजित एक विशेष भेलाले चारबुँदे प्रस्ताव पारित गर्दै नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिएको हो।
यदि कुनै कारणवश नियमित महाधिवेशन हुन नसकेमा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरेमा विशेष महाधिवेशन मंसिर मसान्तभित्र अनिवार्य रूपमा गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ।
महामन्त्री किरणबाबु श्रेष्ठका अनुसार, भेलाले पार्टीलाई वर्तमान अवस्थाबाट सुधार गरी नयाँ परिवर्तित रूपमा आम निर्वाचनमा जनताको साथ लिएर जानुपर्ने आवश्यकता औँल्याएको छ। पारित प्रस्ताव केन्द्रीय कार्यसमितिमा पठाइने प्रवक्ता माधव बास्तोला ‘मधु’ ले जानकारी दिए।
भेलाले भदौ २३ र २४ गते भएको जनजी (जेनजी) प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सोही प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्यहरूमाथि भएको अमानवीय हमला, पार्टी कार्यालय, सरकारी तथा निजी सम्पत्ति र कार्यकर्ताको निवासमा भएको आगजनीको भत्र्सना तथा निन्दा पनि गरिएको छ।
भेलाले जनतासँग क्षमायाचना गर्दै सुध्रिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। पारित प्रस्तावमा भनिएको छ, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गरी जनताका माझ जानुपर्ने अवस्थामा छ। विगतदेखि जनताले नेपाली कांग्रेसलाई साथ दिएका छन् र भरोसा पनि गरेका छन्। तर, हामीले जनताको चाहना अनुसार व्यवहार गर्न नसकेको विषयमा जनताले पटकपटक सचेत गराएका छन्।”
कांग्रेसले आफ्ना कमीकमजोरी, आन्तरिक वैचारिक विचलन, सिद्धान्तगत गल्ती र विगतका सम्झौताहरूको आत्मसमीक्षा गर्दै समस्त नेपाली जनता र शुभेच्छुक महानुभावहरूप्रति क्षमायाचना गर्न चाहेको र अब यस्ता गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टी अहिले कठिन मोडमा उभिएको र आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकतामा रहेको निष्कर्ष भेलाले निकालेको छ।
