बालेन र कुलमानलाई रास्वपामा स्वागत गर्न तयार छौ – कार्यवाहक सभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा विचार मिल्नेलाई अझै स्वागत गर्न तयार रहेको बताएका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले नेपाली जनताले पनि विभिन्न छरिएका पार्टी शक्ति दल र व्यक्तिहरूलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपालाई दिएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकलाई चितवनको सौराहामा शुक्रबार राजनीतिक प्रतिवेदन पेश गर्दै उनले विचार मिल्ने केही व्यक्तिलाई स्वागत गर्न तयार रहेको बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ऊर्जा मन्त्री कुलमान घिसिङल लगायतलाई स्वागतका लागि तयार रहेको बताएका हुन् ।

‘पार्टी स्थापना गर्दा अहिले नाम आएका व्यक्तिहरूलाई सबैजना सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी म आफैँ हो। त्यसबेला उहाँहरू मान्नु भएन । अहिले पनि उहाँहरुलाई स्वागत गर्न तयार छौँ’, उनले भने, ‘उहाँहरूले रास्वपाको स्थान र पहिचान बुझ्नु भएकै छ । पार्टी बनाउने चाहनालाई स्वागत छ। तर प्रचार मात्रै गर्ने नियतको हामी प्रतिवाद गर्छौं।’

अर्यालले समान विचार र दृष्टिकोण भएका दलहरूसँग रास्वापाले हातेमालो गर्नेसमेत प्रतिवेदनमा उल्लेख गरेका छन्।

विचार मिल्ने शक्तिहरूसँग एकता-मोर्चाबन्दी र सहकार्य गर्ने बाटो खुल्ला रहेको अर्यालको प्रतिवेदनमा उल्लेख छ।

Exit mobile version