आफ्नै घर फर्किए कुलमान, रास्वपासँग मिलेन पदीय भागबण्डा

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्दै छन् ।

पार्टीले शनिबार औपचारिक रूपमा उनलाई अध्यक्ष पदमा स्वागत घोषणा गर्न लागेको हो । उज्यालो नेपालका केन्द्रीय सदस्य डा। महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष कुलमान घिसिङसँग प्रेस भेटघाट कार्यक्रम आयोजना गरिँदैछ।

प्रेस भेटघाट कार्यक्रम शनिबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। कुलमानको अध्यक्षतामा उज्यालो नेपालले आगामी राजनीतिक गतिविधि र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने लावतीले बताएका छन् ।

गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति दुई सातामै भाँडिएको छ ।

सञ्चारमाध्यममा आएका विवरण अनुसार दुई पक्षबीचको एकता भाँडिनुमा पदीय आकांक्षा र सैद्धान्तिक मतभेद मुख्य देखिएका छन्।

एकताका लागि कुलमान पक्षले पार्टीको माथिल्लो तहमा शक्तिशाली पदहरूको माग गरेको थियो। विशेष गरी पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिव जस्ता निर्णायक पदहरू आफ्नो पक्षले पाउनुपर्ने अडान कुलमान समूहले राखेको बुझिएको छ, जसमा रास्वपा नेतृत्व सहमत हुन सकेन।

एकताका लागि कुलमान पक्षले राखेको अर्को विवादास्पद सर्त ‘पार्टीको नाम परिवर्तन’ थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम नै फेर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। तर, स्थापित भइसकेको ब्रान्ड र पहिचान मेटिने गरी नाम फेर्न रास्वपा तयार नभएपछि संवादमा पूर्णविराम लागेको हो।

दुई पक्षबीचको संवादलाई तार्किक निष्कर्षमा पुर्‍याउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसमेत सहभागी भएर पछिल्ला समयमा त्रिपक्षीय बैठकहरू भएका थिए। तर, ती बैठकहरूमा पनि शक्तिको सन्तुलन र कार्यविभाजनको ठोस खाका बन्न नसक्दा एकताको सम्भावना टरेको हो।

यसअघि भएका प्रारम्भिक समझदारीहरूबाट कुलमान पक्ष पछि हटेको र पछिल्लो समयमा झन् कडा सर्तहरू अघि सारेको आरोप रास्वपा पक्षले लगाएको छ। पार्टीको नीति, सिद्धान्त र नेतृत्वको संरचना कस्तो हुने भन्ने विषयमा पनि दुवै पक्षबीच गम्भीर मतभेद देखिएको थियो।

लामो समयको प्रतीक्षा र वैचारिक बहसपछि पनि शक्तिशाली पदको माग र अस्तित्वसँग जोडिएको नाम परिवर्तनको सर्तले गर्दा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने यो प्रयासले सफलता पाउन सकेन।


Exit mobile version