रुपाका प्रहरी सहायक हवल्दार अमृत गुरुङ ‘शहीद’ घोषित

सरकारले हालै जेन-जी आन्दोलनका दौरान मृत्युवरण गरेका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

यसरी शहीद घोषित हुनेमा कास्की रुगाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार अमृत गुरुङ् पनि रहेका छन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कोटेश्वर प्रभागमा कार्यरत गुरुङलाई आन्दोलनकारीले ढुंगा, फलामको रड र चक्कु प्रहार गरी सडकमा घिसारेका थिए।

अचेत र रगताम्मे अवस्थामा सडकमै छाडिएका गुरुङलाई स्थानीयले बीएण्डबी अस्पताल ग्वार्को पुर्‍याए पनि सोही दिन उनको निधन भएको थियो।

निषेधाज्ञाको समयमा कर्तव्यपालनाका क्रममा आफ्ना पतिको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गुरुङकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्।

जाहेरी पश्चात् गुरुङको हत्या आरोपमा प्रहरीले कात्तिक १२ गते कैलाली लम्कीचुहा नगरपालिका ४ का १९ वर्षीय अनुपम भण्डारीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार थुनामा राखेको छ ।

शहीदको सूचीमा २ प्रहरी उत्तम थापा र मिलन रायसमेत रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक निरीक्षक मिलन रायलाई भदौ २४ मा प्रदर्शनकारी समूहले निर्मम तरिकाले हत्या गरेका थिए ।

शहीद घोषणा गरिएका बाँकी नाम जेनजी आन्दोलनमा सहभागी हुन् ।

Exit mobile version