जापानमा ‘भालु’ आतंक,सरकारले गर्यो सेना परिचालन 

जीवन सुवेदी,टोकियो । जापानको अकिता प्रिफेक्चरमा भालु आतंक नियन्त्रण गर्न सरकारले सेना नै परिचालन गरेको छ । 

करिब ८० हजार जनसंख्या रहेको अकिता प्रिफेक्चरमा पछिल्लो समयमा भालुको आक्रमण बढेको छ । 

गत वर्षमात्रै भालुका आक्रमणबाट ५० जनाभन्दा बढी घाइते भएका थिए भने दुई जनाको मृत्यु भएको थियो । 

फोहोर फाल्न निस्किएकी ७३ वर्षीया महिला र अर्का ३८ वर्षीय पुरुषको भालुको आक्रमणबाट मृत्यु भएको थियो । 

भालुको आक्रमणबाट कृषकदेखि रिसोर्टका कर्मचारी समेत घाइते हुन पुगेका छन् । 

यसरी भालुले लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि अकिता प्रान्तका गभर्नर केन्ता सुजुकीले गत साता टोकियो पुगेर केन्द्र सरकारलाई भालु आतंक नियन्त्रणमा सहयोग मागेका थिए ।

जापान सरकारले सिकारीलाई तालिम दिएर भालु नियन्त्रण गर्न खोजे पनि सफल नभएपछि अन्ततः सेना परिचालनको निर्णय गर्नुपरेको हो । 

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले भालु आतंक नियन्त्रणका लागि सेना परिचालन भएको जनाएका छन् । 

भालुको प्राकृतिक खानामा कमी आएको तथा जापानको जनसंख्या निरन्तर घटिरहँदा बस्ती समेत पातलिएका कारण मानव बस्तीमा भालुको आतंक बढेको जनाइएको छ ।

Exit mobile version