नयाँलिपिः पोखरा महानगर क्षेत्रमा ४ दिनदेखि सडकमै किनारामा फोहोर असरल्ल थुप्रिएको छ ।
महानगरका मेयरले चुनावताका फोहोर व्यवस्थित गर्ने नारालाई प्रमुखताकासाथ प्रचार गरेपनि समस्या समाधान हुन सकेको छैन । पोखरा ३२ को लामेआहालमा अस्थायी ल्याण्डफिल्डको प्रयोग गरिएपनि पुनः अवरोध भएको छ ।
यसअघि ६–६ महिनाको समय थप्दै लामेआहालमा फोहोर व्यवस्थापन गरिएपनि १८ महिनाको समय कटेपछि स्थानीयले फोहोर फाल्न नदिएपछि पोखराका सडकको दूर्गति भएको छ ।
त्यसपछि पछिल्लो समय थप गरिएको १५ दिनको समय कटेपछि वडाले लामेआहालमा फोहोर फाल्न रोक्दा नगरक्षेत्रमा फोहोर थुप्रिएको छ ।
यसबीच, महानगरले पुनः आवश्यक मापदण्ड तय गरी फोहोर सोही स्थानमा विसर्जन गर्न चाहेपनि वडाध्यक्ष अक्कलबहादुर कार्कीले वडाबासीलाई पहिले जानकारी गराई निर्णय लिने तयारीमा रहेको बताएका छन् । सोही अनुरुप यतिबेला वडाध्यक्ष र स्थानीय छलफलमा जुटेका छन् ।
‘
महानगरको निर्णय, विपद्को समस्यालगायतका विषयमा वडाबासीलाई जानकारी गराउने र छलफल गर्ने काम भइरहेको छ’ वडाध्यक्ष कार्की भन्छन् ‘त्यसपछि स्थानीयको निर्णयअनुसार महानगरमा पुनः कुराकानी हुनेछ ।’
वडाध्यक्ष कार्कीका अनुसार स्थानीयको राय लिएर महानगरमा आज दिउँसो २ बजे छलफल हुनेछ ।
कार्कीले भने, ‘स्थानीयले फोहोर व्यवस्थापनमा महानगरलाई सघाएकै हुन् । प्रतिवद्धता पूरा नहुँदा अब महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग वार्ता गरी कार्यान्वयनको ग्यारेन्टी नहुँदासम्म फोहोर ल्याउन नदिने स्थानीयको अडान छ ।’
महानगरले पटपटक समय थप्दै जाने तर सम्झौता कार्यान्वयन नगरेपछि स्थानीय नै विरोधमा उत्रिएको वडाध्यक्ष अक्कलबहादुर कार्की बताउँछन् । ‘अघिल्लो पटक थपिएको समयमा फोहोर पुर्ने काम भएन’ अध्यक्ष कार्की भन्छन् ‘त्यसपछि फोहोर प्रशोधन गर्ने कुरा भएको हो, तर महानगरले चासो दिएन ।’
महानगरको निर्वाचनताका धनराज आचार्यले ६ महिनाभित्र वेस्टबैंक प्रणालीमार्फत फोहोर किन्ने, १४ महिनाभित्र फोहोर व्यवस्थापनको स्थायी समाधान गर्नेलगायतका नारालाई प्रमुखता दिएका थिए ।
मेयर भएपछि आचार्यले ल्याण्डफिल्डकालागि जग्गा किन्ने र फोहोर व्यवस्थापको साइटमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने जुन पर्यटकीय आकर्षणसमेत बन्ने बताएका थिए ।
यसअघि फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन शीर्षकमा महानगरले वडाध्यक्षको खातामा ५५ लाख रुपैयाँ ट्रान्सफर गरिदिएर आलोचित भएका थिए । पछि उक्त रकम महानगरकै खातामा ल्याइएको थियो ।