नयाँलिपिः पृथ्वीनारायण क्याम्पस पोखरामा वामपन्थी शक्तिबीच एउटै मोर्चाबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न अन्तिम समयसम्म गरिएको प्रयास असफल भएको छ ।
यसअघिका निर्वाचामा एकल जीत हात पार्दै आएको नेकपा एमालेको घटक अनेरास्ववियुसँग नेकपा एसको अनेरास्ववियूले मिलेर चुनावमा जाने भन्दै छलफल गरेकेो थियो ।
प्रारम्भिक छलफलमा कोषाध्यक्ष र २ सदस्यको दाबी गर्दै एसको अनेरास्ववियूले राखेको प्रस्ताव अनेरास्ववियुले नमानेपछि कोषाध्यक्षमामात्रै दाबी गरिएको थियो । तर कोषाध्यक्षमात्रै पनि अनेरास्ववियुले नदिने भएपछि एसको अनेरास्ववियूले अन्य विद्यार्थीसँग तालमेल गरेको छ ।
उक्त तालमेलमा अनेरास्ववियू, अखिल (क्रान्तिकारी) वैद्य र अखिल (समाजवादी) रहेका छन् ।
अखिल (समजवादी) विप्लव समर्थित नेकपाको भातृ संगठन हो । त्यस्तै, नेकपा माके घटक अखिल (क्रान्तिकारी)का एकजनाले पनि संयुक्त मोर्चाबाट चुनाव लड्दैछन् ।
संयुक्त मोर्चाबाट अनेरास्ववियूका सन्तोष पौडलले सभापतिमा मनोनयन दर्ता गरेका छन् । पौडेल विज्ञान (फिजिक्स)तर्फ चौथो वर्षका विद्यार्थी हुन् ।
अनेरास्ववियूका विद्यार्थी नेता एवं केन्द्रिय कमिटी महासचिव राजन शर्मा पराजुलीले पार्टी फरक भएपनि विद्यार्थी आन्दोलनको एजेण्डा एउटै भएको र वाम शक्तिबीच सकारात्मक सन्देश जानसक्ने सम्भावनालाई मध्येनजर गरेर अनेरास्ववियुसँग संयुक्त प्यानल बनाउन प्रयास गरेको बताए ।
‘हामीले अन्तिम घडिसम्म प्रयास गर्दा पनि सम्भव भएन’ शर्मा भन्छन् ‘एउटा कोषाध्यक्षमात्र माग्दा पनि नदिइएपछि हामीले अन्य विद्यार्थी शक्तिसँग मिलेर चुनाव लड्ने प्रयासस्वरुप मोर्चामार्फत अघि बढेका हौं ।’