भारत । भारतको गुजरात राज्यको सूरत सहरबाट एउटा चामत्कारिक घटना बाहिरिएको छ ।
सूरतको न्यू सिभिल अस्पतालमा उपचाररत एक बिरामीलाई डाक्टरले मृत घोषणा गरे पनि केही समयपछि ती बिरामी हलचल गरेका छन् । यो घटनालाई मेडिकल साइन्समै ‘चामत्कारिक’ मानिएको छ ।
अंकलेश्वर निवासी ४५ वर्षीय राजेश पटेललाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा समस्या थियो ।
चिकित्सकको भरपूर प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन सकेन । ईसीजी रिपोर्टमा ‘स्टेट लाइन’ आएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यससँगै राजेशका आफन्तबिच रुवाबासी चल्यो । चिकित्सकहरू आफ्नो नियमित काममा व्यस्त थिए । यत्तिकैमा राजेशको शरीरमा हलचल भयो ।
मनिटरमा उनको मुटुको धडकन फेरि चलेको सङ्केत देखियो । त्यस लगत्तै चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार गर्न थाले । बिस्तारै उनको धडकन सामान्य हुँदै गएको थियो ।
सो अस्पतालका मुख्य चिकित्सा अधिकारी डा.उमेश चौधरीले आफ्नो ३० वर्ष लामो करिअरमा यस प्रकारको घटना पहिलो पटक सामना गरेको बताए । अस्पताल प्रशासनका अनुसार राजेशको अवस्था स्थिर छ । यद्यपि उनलाई अस्पतालमै २४ घण्टाका लागि निगरानीमा राखिने भएको छ ।एजेन्सी
