मुस्ताङमा कात्तिकमै हिमपात ! सवारी आवागमनमा कठिनाई, ४५ सय पर्यटक होटलमै (तस्बिरसहित)

मुस्ताङमा वर्षा र हिमपात सुरु भएपछि त्यहाँ पुगेका करिब ४५ सय पर्यटकहरु होटलमै थन्किएका छन् ।

हिजो साँझदेखि त्यस क्षेत्रमा वर्षा र हिमपात सुरु भएको छ । जोमसोम विमानस्थल आसपासबाहेक तल्लो र माथिल्लो भेगमा हिउँ पर्दा सवारी साधन चलाउनसमेत कठिनाई भएको त्यहाँ पुगेका आन्तरीक पर्यटकले बताएका छन् ।


हिजो रातिदेखि जोमसोम बजार क्षेत्रमा पानी परिरहेको र कागबेनीदेखि माथि पुरै हिउँ परिरहेको स्थानीयवासी एवं पत्रकार आदित्य रसाइँलीले जानकारी दिएका छन् ।

हिजैदेखि निरन्तर पानी पर्दा विमानस्थल आसपासका घरहरु चुहिने थालेको बताउँदै रसाइँलीले मुस्ताङमा हिउँ पर्नुभन्दा पानी परिरहनु प्रतिकुल हुने बताए ।

‘हिजो बिहान करिब ३ हजारको हाराहारीमा पर्यटक फर्किए’ उनले भने ‘आज दिउँसोसम्म हिउँ परे करिब २ फिट बाक्लो हुनेछ, पर्यटक प्रभावित हुनेछन् ।’

यतिबेला जोमसोममाथि कागबेनी, मुक्तिनाथ, चराङ, छोसेर हुँदै कोरला नाकासम्म र कोबाङ्देखि तल्लो भेगमा पनि हिउँ परिरहेको उनले जनाएका छन् ।

कात्तिकमै हिउँ परेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उपल्लो र तल्लो मुस्ताङका उच्च भागमा हिमपात सुरु भएको जनाउँदै यात्रुहरूलाई सतर्क रहन आग्रह गरे।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनले उक्त सडकखण्डमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन जोखिमपूर्ण भएको जनाएको छ।

तस्बिरहरुः आदित्य रसाइँली

Exit mobile version