खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा सम्पन्न

खुमा अर्याल फाउन्डेसनले स्याङ्जाको पुतलीबजार नगरपालिका–३, गुडिखोलास्थित सहयात्री पार्टी प्यालेसमा सातौं साधारणसभा सम्पन्न गरेको छ ।

यस अवसरमा फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, अन्तरक्रिया र चियापान कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले दुर्गम क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि फाउन्डेसनले विभिन्न कार्य र कार्यक्रम गर्दै आएको बताए ।

उनले यस कार्यमा सबै सरोकारवाला र निकायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा अझै साथ र समन्वयको अपेक्षा राखे । अर्यालले फाउन्डेसन कुनै पनि राज्य नभएको स्पष्ट पार्दै सबैलाई सामाजिक कार्यमा फाउन्डेसनसँग जोडिएर सहकार्य गर्न आह्वान गरे ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नगर उपप्रमुख देवि अर्याल, पत्रकार श्री कृष्ण सिग्देल, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, वालिङ नगर उपप्रमुख कविता तिवारी गैरे र अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङलगायतले फाउन्डेसनले गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा सहभागीले महत्वपूर्ण राय र सुझाव प्रस्तुत गरेका थिए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिए ।

फाउन्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शालिकराम अर्यालले स्वागत मन्तव्य दिएका थिए भने सचिव ध्रुव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा १२ वटा संस्थाका प्रतिनिधिलाई संस्थागत आबद्धता प्रमाणपत्र प्रदान गरियो ।

Exit mobile version