एनपीएल टोली पोखरा एभेन्जर्सले पहिलो विदेशी खेलाडी इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।
मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपीएलका लागि टोलीले आफ्नो शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।
रोसिङटनले घरेलु स्तरमा लामो करिअर बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भएका थिए ।
काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणी खेल खेलेका छन् भने टी–२० फर्मेटमा सयौँ खेल खेलेका छन् र करिब तीन हजार पाँच सयभन्दा बढी रन बनाएका छन् । दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा मैदानमा उनको तेज, तर टिकाऊ खेलले टोलीलाई नियमित योगदान पुर्याउने र पावर प्लेमा तीव्र सुरुवात गराउने क्षमताका लागि उनी परिचित छन् ।
रोसिङटनले विश्वभरका प्रमुख टी–२० लिगहरूमा पनि खेल्दै अनुभव सङ्कलन गरेका छन् । पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले छोटो अवधिमा राम्रो प्रदर्शन गरेका थिए भने दक्षिण अफ्रिकाको एसए–२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दा पहिलो संस्करणमै उपाधि जित्न टोलीलाई सहयोग पुर्याएका थिए ।
साथै, उनले संयुक्त अरब इमिरेट्समा सञ्चालन हुने अन्तर्राष्ट्रिय लिग (आईएलटी–२०) मा दुबई क्यापिटल्सको प्रतिनिधित्व गरेका छन् र इंग्ल्यान्डको ‘द हन्ड्रेड लिग’मा लन्डन स्पिरिटबाट पनि सहभागी भइसकेका छन् ।
